नायिका ऋचा घिमिरेको कुनै समय नेपाली चलचित्रमा राम्रै बोलबाल थियो भन्दा फरक नपर्ला । उनका केही चलचित्रहरुले नेपाली बजारमा राम्रै धुम मच्चाएका छन् । तर, उनलाई दर्शकहरुले पर्दामा देख्न नपाएको भने बर्षौ भइसकेको छ ।

जब उनी श्रीमान शंकर घिमिरेको निर्देशनमा बनेको चलचित्र ‘तुलसी’ प्रदर्शनका लागि भन्दै अमेरिका पसिन् तबदेखी भने उनी नेपाली चलचित्रमा सक्रिय छैनन् । न उनको ‘तुलसी’ चलचित्र अमेरिकामा प्रदर्शन भयो न त नेपालमा नै । तर, ऋचा घिमिरेलाई भने ‘तुलसी’ ले पलायन नै बनायो । क्रमश नेपाली चलचित्रमा नयाँ अनुहारहरुको आगमनसँगै ऋचाले पनि आफ्ना समकालिन अभिनेत्रीहरुले रोजेकै बाटो रोजिन् र अमेरिका पलायन भईन् ।

अहिले उनी तीन सन्तानकी आमा बनिसकेकी छिन् । पहिलो र दोस्रो सन्तानमा दुई छोराकी आमा बनेकी ऋचाले तेस्रो सन्तानमा छोरीलाई जन्मदिइन ।नेपाली चलचित्रमा सक्रिय रहँदा स्लिम नायिकाको रुपमा चिनिने ऋचा अहिले निकै मोटाएकी छिन् । पहिलो सन्तानकी आमा बन्दा ऋचा खासै मोटाएकी थिइनन् तर दोस्रो सन्तानलाई जन्मदिएपछि उनले आफ्नो तौललाई कन्ट्रोलमा राख्न सकिनन् ।

अझ तेस्रो सन्तानमा छोरीलाई जन्मदिएपछि त झन ऋचालाई तौलले गज्जबकै साथ दिएको छ । नेपाली समाजमा मानिस खुसी भए आफै तौल बढ्छ भनिन्छ, ऋचाको हकमा पनि अहिले यस्तै भएको देख्न सकिन्छ । सामाजिक सञ्जालमा निकै सक्रिय रहने ऋचाले आफ्नो इन्स्टाग्राममा केही तश्वीरहरु शेयर गरेकी छिन्, जसबाट यो अनुमान लगाउन सकिन्छ कि ऋचाको तौल ७० किलो भन्दा माथी छ ।

दुई दर्जनको हाराहारीमा नेपाली खेलेकी ऋचाले निर्देशक शंकरसँग प्रेमविवाह गरेकी हुन् । शंकरको निर्माण र निर्देशनमा बनेको ‘वीरताको चिनो’ चलचित्रको सुटिङका क्रममा उनीहरूबीच प्रेम मौलाएको थियो । पछि उनीहरूले बिहे गरे । बिहेपछि शंकरको निर्देशनमा ऋचा निर्माता रहेको ‘ब्रेकफेल’ नामक कमेडी चलचित्र बन्यो ।

तर, व्यावसायिक रूपमा सफल भएन । त्यसपछि उनीहरूले ‘तुलसी’ निर्माण गरे । झण्डै ७ बर्षदेखी अमेरिकामा सपरिवार रहँदै आएकी ऋचा अब नेपाल फर्किएर नेपाली चलचित्रमा लाग्ने सोचमा छैनन् । उनको अमेरिका बसाई हेर्दा लाग्छ अब ऋचा चलचित्रको पर्दामा फर्किएर हिरोसँग रोमान्स गरेर रंगीन सपनाहरु बुन्ने मनसायमा छैनन् बरु उनी अब आफ्नो सम्पूर्ण समय परिवारलाई दिन चाहन्छिन् ।