धरान/कलिलो उमेरमा प्रेम सम्बन्धमा परी घरबाट भाग्ने किशोरकिशोरीको मुद्दाको चाप बढ्दै गएपछि उक्त विषय धनुषा प्रहरीका लागि ‘टाउको दुखाइ' बनेको छ । जिल्लामा पढ्ने उमेरमा प्रेम सम्बन्धमा परी भाग्ने किशोरकिशोरीको संख्या बढ्दै गएको हो ।
किशोरकिशोरीहरु आफ्नो मर्जीले घर छाडी भाग्ने र अर्कोतर्फ छोरीपक्षका अभिभावकले अपहरण र शरीर बन्धक मुद्दामा उजुरी लेखाउन आउने हुनाले जिल्ला प्रहरी कार्यालय धनुषाको महिला तथा बालकालिका सेलमा दैनिक उजुरीको चाङ लाग्ने गरेको महिला सेल प्रमुख रामभक्त भट्टराईले बताए ।
बुधबार जिप्रका महिला सेलमा मोरङका एक अभिभावक आफ्नी १४ वर्षीया छोरीलाई धनुषाको चोरा कोहलपुरका एक युवकले अपहरण गरी लगेको भन्दै उजुरी लिएर आए । आफ्नी छोरीको बिहीबारदेखि एसईई परीक्षा भएको र सोही सहयमा अपहरण गरिएको भन्दै उनले उजुरी दर्ता गराए । तर प्रहरीले अपहरण गरिएकी भनिएकी छोरीलाई फोन गर्दा उनले आफूखुसी ती युवकसँग भागेको उत्तर दिइन् । ‘म १० को परीक्षा यस वर्ष नदिई अर्को वर्ष दिन्छु तर प्रेम गर्ने केटासँगै बस्छु', उनले भनिन् ।
यस्तो उत्तर सुनेपछि भावुक भएका अभिभावक प्रहरीसमक्ष छोरीलाई खोजी गरिदिन अनुरोध गरी फर्के । स्कुल-कलेजमा पढ्ने १२ वर्षदेखि लिएर १६ वर्षसम्मका किशोरकिशोरी घर छाडी भागेका घटना दैनिक तीनदेखि चारवटासम्म आउने गरेको र यस्ता घटनाको अनुसन्धानमा प्रहरीको अत्यधिक समय खर्च हुने गरेको लैगिंक हिंसा नियन्त्रण कार्यकारिणी समिति धनुषाकी अध्यक्ष सुभद्रा आलेले बताइन् ।
यस्ता घटनामा अधिकांश किशोरकिशोरीलाई नियन्त्रणमा लिएर अभिभावकको जिम्मा लगाउने गरिएको छ । तर अभिभावकको जिम्मा लगाउँदा कतिपय घटनामा केटाकेटीले आत्महत्याको प्रयास गर्ने वा पुनः भाग्न खोज्ने गरेको आलेको भनाइ छ । त्यसैले यस्ता घटनामा अभिभावक सचेत हुनुपर्ने महिला अधिकारकर्मी मीना कार्कीले बताइन् ।अाजकाे अन्नपुर्ण पाेस्टमा खबर छ । बालबालिका र अभिभावकबीचको तनाव, घरमा आत्मीयताको अभाव, अशिक्षा गरिबी तथा मोबाइल र इन्टरनेटको सञ्जालले समेत किशोरकिशोरीको मनोभावनामा असर गर्ने र घर छाडी भाग्ने प्रवृत्ति बढेको उनको भनाइ छ ।
आर्थिक वर्ष २०७१/७२ मा किशोरकिशोरी भागेको ९९ वटा उजुरी जिप्रका धनुषामा परेका थिए, जसमध्ये ४२ वटाको मिलापत्र भएको र थियो भने ५७ वटा अहिले पनि अनुसन्धानको क्रममा छन् ।