काठमाडौं/दाङ जिल्लाको देउखुरी उपत्यकास्थित सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बल सीमानाकाभन्दा ४० किलोमिटर टाढा निस्फिक्री बसेको भन्दै संसदमा चर्को आलोचना भएको छ । संसदको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीले देउखुरीस्थित नेपाल–भारत सीमानामा जंगे पिलर भारतीय पक्षले नेपालतिर सारेको दाबी गरे । उनले भने, ‘विनाबर्दीका नेपाली जनताले सीमाको सुरक्षा गरेका छन् । तर, सीमा सुरक्षा गर्न भनेर एसपीको नेतृत्वमा रहेको सशस्त्र प्रहरी बल ४० किलो मिटर टाढा लमहीको अर्जुन खालामा बसेको छ । यसरी सीमा सुरक्षा कसरी हुन्छ ?’ सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारीअनुसार काम नगरेको उनको भनाइ थियो । सांसद चौधरीले भने, ‘नेपाली भूमि मिचिने गरेर जंगे पिलर सरेको छ । यसतर्फ सरोकारवाला निकायले छिटोभन्दा छिटो ध्यान दिनुपर्छ । सीमा सुरक्षाका लागि खटिएको एसपीको कमाण्डको सशस्त्र प्रहरीले जिम्मेवारीअनुसार काम गरेको छैन । ४० किलोमिटर टाढा बसेर सीमा सुरक्षा हुँदैन ।’ भारतीय पक्षबाट मुलुकका विभिन्न स्थानमा सीमा मिचेको समाचार आइरहेका बेला फोरम लोकतान्त्रिकका सांसद चौधरीले देउखुरीबाट जंगे पिलर नेपालतर्फ सारिएको घटना उजागर गरिदिएका हुन् । गौरियानाका, कोइलावास, गुरुङखोला लगायतका क्षेत्रका जनता राज्यको ठूलो विभेदबाट बाँच्नु परेको बताएका फोरम लोकतान्त्रिकका सांसद चौधरीले भने, ‘त्यस क्षेत्रका जनताले अहिले पनि बिजुलीवत्ती देख्न पाएका छै्रनन् । उचित शिक्षा पाएका छैनन् । उच्च शिक्षा लिन २५ किलोमिटर टाढाको स्कुल जानुपर्ने बाध्यता छ ।’ कोइलावास, बेला, राजपुर गाविसको सिमाना भारतसँग जोडिएको प्रसंग उठाउँदै सांसद चौधरीले भने, ‘ती गाउँहरूमा बाटोघाटो छैन । त्यहाँ जाँदा भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यहाँका जनताले राज्यको सुविधान पाउनु पर्दैन ?