धरान/निर्वाचन आयोगले केन्द्रमा स्थानीय निर्वाचनको तयारी पूरा भएको बताएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले केन्द्रमा निर्वाचनको तयारी पूरा भएसँगै जिल्ला र स्थानीय मा राजनीतिक वातावरण बनाइदिन सरकार र सम्बन्धित दललाई आग्रह गरेको छन् ।
‘केन्द्रमा निर्वाचनको तयारी पूरा भएको छ, आयोगले अब जिल्ला हुँदै स्थानीय तहसम्मको तयारीमा जाने तयारी सुरु गरेको छ,’ पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त यादवले भने, ‘केन्द्रमा मतपत्र छपाईको काम आजबाट सुरु भयो, मतदाता नामावलीलाई चैत २० गतेसम्म अन्तिमरुप दिनेगरी काम भइरहेको छ।’
६७ प्रकारका निर्वाचन सामाग्रीको तयारी भइरहेको र २१ हजार मतदान केन्द्रका लागि करिब ३० हजार मतपेटिका खरिदको सम्झौता भइसकेको समेत आयोगले जानकारी गराएको छ ।
आयोगका अनुसार सबैभन्दा बढी काठमाडौंमा ४७ दल दर्ता भएका छन् भने मनाङमाा सबैभन्दा कम ६ दलमात्र दर्ता भएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त यादवले तराई मधेस क्षेत्रमा देखिएको समस्या समाधान गरेर निर्वाचनको वातावरण बनाइदिन प्रधानमन्त्री र राजनीतिक दललाई आग्रह गरे । ‘दुई नम्बर प्रदेशमा देखिएको समस्याका विषयमा अयोग जानकार छ’, प्रमुख आयुक्त यादवले भने, ‘उक्त प्रदेशमा निर्वाचनको वातावरण बनाइदिन प्रधानमन्त्री र राजनीतिक दललाई आग्रह गर्दछु ।’
त्यस्तै अर्को प्रसंगमा राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान संशोधन भएको विषयमा बोल्दै प्रमुख आयुक्त यादवले संविधान अनुसार नै केही शब्दावली हटाइएको स्वीकार गरे ।
‘कुनै दल विशेषसँग निर्वाचन आयोगको आग्रह र पूर्वाग्रह छैन,’ यादवले भने, ‘संविधानले धर्मनिरपेक्षता र गणतन्त्रलाई संस्थागत गरेकाले राप्रपाको विधामा उल्लेख गरिएको हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हदाइएको हो ।