बिर्तामोड / वीरता जेसीजले समाजमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान गर्दै आएको उत्कृष्ट नागरिक सम्मान यसपटक सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई समर्पण गर्ने भएको छ । वीरता जेसीजले समाज परिवर्तनका लागि विशिष्ट योगदान दिने व्यक्तिलाई २०५२ सालबाट यो सम्मान प्रदान गर्दै आएको हो । झापाको गौरादह स्थायी घर भएका धुर्मुस र सुन्तलीलाई भूकम्पपीडितको आवास निर्माणमा सरकारले भन्दा प्रभावकारी र अनुकरणीय काम गरेको ठहरका साथ ‘उत्कृष्ट नागरिक सम्मान– २०७३’ समर्पण गर्ने निर्णय भएको वीरता जेसीज सन् २०१७ का अध्यक्ष सञ्जु भारतीले बताए । वैशाख ३ गते बिर्तामोडमा एक भव्य कार्यक्रमको आयोजना गरी धुर्मुस र सुन्तलीलाई नागरिक अभिनन्दनसहित धुर्मुस–सुन्तली फाउण्डेशनलाई जनस्तरबाट रकम हस्तान्तरण गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताइयो । ‘रकम यति नै हो भनेर अहिले नै सार्वजनिक गर्ने संस्थाको नियमभित्र पर्दैन,’ उत्कृष्ट नागरिक सम्मान समारोह २०७३ का संयोजक विनोद बस्नेतले भने, ‘सम्मानलाई देशकै उत्कृष्ट र रचनात्मक बनाउने हाम्रो लक्ष्य हो, भूकम्पपीडितका लागि केही घर निर्माण गर्न पुग्ने रकम हस्तान्तरण गर्छौं ।’ वीरता जेसीजले यसअघिका सम्मानित व्यक्तिलाई भने स्वर्ण पदक र सम्मानपत्र प्रदान गर्ने गरेको थियो । तर, धुर्मुस र सुन्तलीलाई सम्मान गर्ने भएपछि भूकम्पपीडितको घर निर्माण अभियानमा झापालीको पनि ऐक्यवद्धता जनाउन रकमसमेत प्रदान गरिन लागिएको बस्नेतले बताए ।य सन् १९८१ मा स्थापित वीरता जेसीजले यसअघि दान खालिङ, वैरागी काइँला, भवानी घिमिरे, तुर्सा हेमरम, चुडामणि रेग्मी, लीला उदासी, रामदर्शन गुरुङ, शङ्कर उप्रेती, अशोक शर्मा, दाताराम खनाल, छत्रबहादुर बस्नेत, डम्बर अधिकारी, खिलप्रसाद शिवाकोटी लगायतलाई सम्मान गरिसकेको जनाएको छ । उत्कृष्ट नागरिक सम्मान कार्यक्रम झापाका १४ वटा जेसीज शाखाको अग्रसरतामा गरिँदै आएको छ । त्यसको अगुवाई वीरता जेसीजले गरिरहेको छ । वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले जेसीजमा लागेका व्यक्तिले समाजमा सकारात्मक काम गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्न सो सम्मान कार्यक्रमको थालनी गरेका हुन् । भूकम्पपीडितहरुको घर निर्माण अभियानमा धुर्मुस र सुन्तलीको सक्रियता मुलुकभर चर्चाको विषय बनेको छ । उनीहरुले सयौँ घर निर्माण गरी भूकम्पपीडितलाई हस्ततान्तरण गरिसकेका छन् । आयोजक संस्थाले सो सम्मान कार्यक्रम र धुर्मुस सुन्तली फाउण्डेशनलाई रकम उपलब्ध गराउन सहयोगी भूमिकाका लागि आम झापालीलाई आग्रहसमेत गरेको छ ।