काठमाडौ/ यस वर्ष ओस्कार अवार्डमा विजयी दुई र मनोनयनमा परेको एक चलचित्र नेपाली दर्शकले हेर्न पाउने भएका छन् । एप्पल इन्टरटेनमेन्टले चैत १८ देखि दुई सातासम्म ओस्कारमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड पाएको ‘मुनलाइट’, निर्देशनसहित विभिन्न विधामा अवार्ड पाएको ‘लाला ल्यान्ड’ र मनोनयनमा परेको चलचित्र ‘डिप वाटर होराइजन’ नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्न लागेको हो ।एप्पल इन्टरटेनमेन्टकी प्रमुख जेनिस पहारीले दिएको जानकारीअनुसार क्यूएफएक्ससहित देशभरका सबै मल्टिप्लेक्स हलमा यी चलचित्र प्रदर्शन गरिन लागेको हो । ‘नेपाली दर्शकलाई आफ्नै सहरको हलमा ओस्कार अवार्ड विजेता चलचित्रको स्वाद चखाउने जमर्को गरेका हौं’, पहारीले भनिन्, ‘ढिलै भए पनि दर्शक यी चलचित्र हेरेर रमाउने विश्वास लिएका छौं ।’
गत महिना आयोजित ओस्कार अवार्डको ८९औं संस्करणमा अमेरिकी अफ्रिकी युवकको कथा प्रस्तुत गरिएको चलचित्र ‘मुनलाइट’ सर्वोत्कृष्ट ठहरिएको थियो । त्यसैगरी क्रिटिक्सहित निर्देशन, अभिनेत्री, छायांकन, ध्वनिजस्ता विधामा अवार्ड जितेको ‘लाला ल्यान्ड’लाई पनि वर्षकै उत्कृष्ट चलचित्रका रूपमा लिइएको छ । ‘डिप वाटर होराइजन’ अवार्ड नजिते पनि ध्वनि सम्पादन र भिजुअल इफेक्ट विधामा मनोनयनमा परेको थियो ।
एप्पल मल्टिप्लेक्स चेन क्यूएफएक्सको मातृसंस्था क्वेस्ट इन्टरटेनमेन्टको चलचित्र वितरण विभाग हो । एक दशकदेखि सक्रिय एप्पल पछिल्लो समय हलिउड चलचित्र वितरणमा पनि केन्द्रित भएको छ । यसै क्रममा एप्पलले प्रतीक्षित मानिएको एनिमेटेड चलचित्र ‘बोस बेबी’ पनि मार्च ३१ मा रिलिज गर्दैछ ।