कञ्चनपुर/ खेतीमा हुने सम्भावित जोखिमबाट जोगाउने उद्देश्यले कञ्चनपुरका ६४७ किसानले बाली बिमा गराएका छन् ।
कृषि विकास कार्यालयका अनुसार हालसम्म केरा खेतीमा १२८, उखु खेतीमा ४२६, धान खेतीमा ८९ र माछामा चार गरी ६४७ किसानले बिमा गराएका हुन् ।
केरामा रु दुई करोड २९ लाख ९९ हजार, उखुमा रु १८ लाख ३९ हजार दुई सय, धानमा रु २३ लाख ९९ हजार र माछामा रु ८३ लाख २६ हजार गरी कुल रु तीन करोड ५५ लाख ९७ हजार दुई सय बराबरको बिमा गरिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए।
“विसं २०७१ देखि केरा र उखुमा खेतीको जोखिम न्यूनीकरण गर्नका लागि किसानले बिमा गराउँदै आए पनि आव २०७२–७३ देखि मात्रै किसानले चैतेधान र माछामा पनि बिमा गराएका हुन्” – अधिकृत जोशीले भने।
खेतमा लगाइएको बालीमा आगलागी, चट्याङ, भूकम्प, बाढी, खडेरी, आँधिबेरी, रोगकिरा, जङ्गली जनावर र विषादीबाट हानिनोक्सानी भए बिमा गरिएको बालीको बिमा कम्पनीले क्षतिको मूल्याङ्कन गरी ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था छ । बिमा गरिएको रकममध्ये २५ प्रतिशत कृषकले र ७५ प्रतिशत रकम सरकारले व्यहोर्ने व्यवस्था छ ।
रासस