धरान/ ६ वर्षअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर मारिएका मोरङ जिल्लाको अमाही बरियातीका वासुदेब शाहको परिवारलाई सरकारले १० लाख क्षतिपूर्ति दिने भएको छ ।

सोमबारदेखि सुरु हुने पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठकपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले शाहका परिवारलाई बिराटनगरमा क्षतिपूर्ति बापतको चेक हस्तान्तरण गर्ने भएका हुन् ।

०६७ जेठ ११ गते एसएसबीको गोली प्रहारबाट शाहको हत्या भएपछि जिल्ला सुरक्षा समितिको २०६७ जेठ १३ गते बसेको बैठकले क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा सिफारिस गरेको थियो तर तत्कालीन माधव नेपाल नेतृत्वको सरकारले सीफारीस अस्विकार गरेको थियो ।

एसएसवीकै गोलीवाट मारिएका गोवीन्द गौतमको परिवारलाई १० लाख दिने सरकारले निर्णय गरेपछि साह हत्याको विषय व्लाष्ट सहितका संचारमाध्यवाट वाहिर आएको थियो । सरकारले विभेद गरेको भन्दै आलोचना भएपछि अहिलेको सरकारले ६ वर्ष अघि मारिएका साहको परिवारलाई क्षतिपुर्ति दिने भएको हो ।

सोमबारदेखि स्थानीय तहको चुनावको लागि सुरक्षा व्यवस्था बारेमा रणनीति बनाउन पूर्वाञ्चल सुरक्षा गोष्ठी गर्ने भएको छ । सोमबार विराटनगरमा पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठक गोष्ठी हुन लागेको हो ।

उपप्रधान तथा गृहमन्त्री निधिले क्षेत्रीय सुरक्षा निकायका प्रमुखहरुलाई निर्वाचन सुरक्षाका सम्बन्धमा निर्देशन दिने बताइएको छ । सरकारले बैशाख ३१ गतेलाई स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको छ । ७४४ तहमा एक चरणमा हुने चुनावमा पूर्वाञ्चल क्षेत्रको सुरक्षा स्थिति, सुरक्षा योजना र त्यसको कार्यान्वयनको लागि रणनीति बनाइन गोष्ठी हुन लागेको हो ।

यसैबीच, गृहमन्त्री निधिले सप्तरी घटनाको स्थलगत निरीक्षणका लागि सप्तरी जाने भएका छन् । सप्तरी जाने व्यवस्था मिलाउन गृहसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका छन् ।

केही दिनभित्रै सप्तरीको मलेठ पुगेर गृहमन्त्री निधिले सप्तरी घटनामा मारिएका पाँच जनाका परिवारलाई रु। १० लाखका दरले राहत बितरण गर्ने तयारी थालेका छन् ।