धनकुटा/ जिल्लाको छथर हात्तीखर्क–२ का मिलबहादुर तिगेला खेवा लिम्बूको स्मृतिमा निर्माण गरिएको ‘मिलबहादुर तिगेला स्मृति भवन’ उनको वार्षिक पुण्य स्मृतिको अवसर पारेर सोमबार विश्रान्ति मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

१९९५ सालमा छथर हात्तीखर्क–२ सुन्तलेमा जन्मिएका तिगेलाको निधन ०७२ फागुन १४ गते ७७ वर्षको उमेरमा भएको थियो । उनकै सम्झनामा उनकी धर्मपत्नी टीकामाया खापुङ र छोराहरू टेकजङ्ग, विश्वासदीप, थर्कदीप, सन्दीप तथा छोरी–ज्वाइँहरू थाममाया र केसर सुब्बा पारघरी, मनकुमारी र भक्तबहादुर राई एवम् खड्ककुमारी र प्रेमबहादुर थोक्लेनलगायत परिवारका तर्पmबाट मूलघाटस्थित विश्रान्ति मन्दिरमा एकतले दुईकोठे पक्की भवन निर्माण गरिएको हो । बुद्धिकर्ण तथा काङ्सोरे संरक्षण प्रतिष्ठानको विशेष प्राविधिक तथा आर्थिक सहयोगमा भवन निर्माण गर्न ४ लाख १० हजार रुपैयाँ लागेको जनाइएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शंकर दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै समितिका सचिव जनार्दन घिमिरेले लाखौँ रुपैयाँमा भवन निर्माण गरी सामाजिक काममा दान गर्नु पुण्य कार्य भएको धारणा राखेका थिए । सो अवसरमा बुद्धिकर्ण तथा काङ्सोरे संरक्षण प्रतिष्ठानका सदस्य सचिव शिव तिगेलाले स्वर्गीय तिगेलाको जीवनी वाचन गरेका थिए । सो अवसरमा आदिवासी जनजाति पत्रकार महासङ्घका धनकुटा अध्यक्ष सन्तवीर लामालगायत स्थानीय सञ्चारकर्मीहरू उपस्थित थिए । विश्रान्ति मन्दिरमा रहेका वृद्धवृद्धाहरूलाई सो अवसरमा तिगेला परिवारका तर्पmबाट मिष्ठान्न भोजन गराइएको थियो ।