धरान/म्यादी प्रहरीका लागि पूर्वबाट ४६ हजार बढीको आवेदन परेको छ । आउदो बैसाख ३१ गते तोकिएको स्थानीय निकायको चुनावको लागि देशभर ७५ हजार म्यादी प्रहरी माग गरेको थियो । पूर्वबाट मात्रै ४६ हजार चारसय ३१ जनाले आवेदन दिएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जसमध्ये ४० हजार ४२ पुरुष र ६ हजार तीनसय ८९ महिला छन् । नेपाल प्रहरीले निर्वाचनको सुरक्षार्थ खटिने म्यादी प्रहरीका लागि चैत ११ गतेदेखी चैत १७ गते आवेदनको लागि खुल्ला गरेको थियो । जसमा सबैभन्दा बढी मोरङमा ६ हजार ८ सय ६२ जनाको आवेदन परेको छ भने सबै भन्दा कम सोलुखुम्बुमा ६ सय ५४ जनाले आवेदन दिएका छन् । त्यसैगरी ताप्लेजुङमा १६ सय ५६, पाँचथरमा १८ सय ८१, ईलाममा २९ सय १०, झापामा ६५ सय ८६, सुनसरीमा ५२ सय १३, धनकुटा १६ सय ९७, तेह्रथुम ९ सय ४१, संखुवासभा १७ सय ८२, भोजपुर १९ सय ७१, उदयपुर २९ सय ६१, खोटाङ १४ सय ७८, ओखलढुङा एक हजार ६४, सप्तरी ५ हजार ७, सिरहा ३७ सय ६८ जनाको आवेदन परेको छ । पूर्वाञ्चलका १६ वटा जिल्लामा स्थानीय तहको निर्वाचन सुरक्षार्थ करिब १६ हजार ७ सय ७२ म्यादी प्रहरी खटिने छ । म्यादीका लागि जिल्ला छनौट समितिले आवेदकहरुको उचाई, स्वास्थ्य परिक्षण, लिखित तथा अन्तरवार्ता परिक्षा लिई छनौट गर्ने प्रावधान रहेको छ ।