धरान/सत्तारुढ दल र मधेसी मोर्चाको शीर्ष नेताहरूको बैठक सकारात्मक मोडतिर अगाडि बढेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा राखिएको प्रस्तावप्रति मोर्चाले केही लचकता देखाएको हो ।

बैठकपछि कुरा गर्दै राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले सीमाङ्कनका विषयमा तत्काल थाँती राख्ने र शक्तिशाली आयोग बनाउने विषयमा सहमतिको नजिक पुग्ने प्रयास भएको बताए ।

उनले आगामी दुई तीन दिनभित्रै प्रधानमन्त्रीले केही ठोस निर्णय गरेर अगाडि बढ्ने आश्वासन दिएको बताए । ‘अझै केही विषयमा गृहकार्य आवश्यक छ । अन्य दलहरूसँग पनि छलफल गरेर केही दिनभित्र एउटा सहमति हुन्छ’, महासचिव झाले भने ।

‘प्रधानमन्त्री पुष्पकमल दाहालज्यूले पहिलाकै विषयहरूलाई राख्नु भयो’, उनले भने, ‘सीमाङ्कनका विषयमा शक्तिशाली आयोग बनाएर सीमाङ्कनको विवाद टुंग्याउने प्रस्ताव आएको छ । मोर्चाले यस विषयमा गम्भीर भएर सोँच्दै छ ।’ उनले संविधान संशोधनको विधेयकका बाँकी विषयहरूलाई परिमार्जनसहित पारित गर्ने सहमति भएको बताए ।

बैठकमा प्रधानमन्त्री दाहालले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए । उनको आग्रहप्रति मधेसी मोर्चाले पुरानै अडान दोहोराएको थियो । ‘मधेसी मोर्चा निर्वाचनको विरोध होइन’, महासचिव झाले भने, ‘निर्वाचनमा जाने वातावरण बनाइनु पर्छ । पहिला संविधान संशोधनको विधेयक पारित गर्नुपर्छ ।’

मधेसी मोर्चाले निर्वाचनमा सहभागी हुने प्रतिवद्धता जनायो भने सीमाङ्कनको विवादलाई शक्तिशाली आयोग बनाएर मिलाउने तथा अरु विषयलाई अहिले नै परिमार्जन संशोधन गर्न सकिने विषय प्रधानमन्त्री दाहालका साथै कांग्रेसका नेताहरूले बैठकमा अडान राखेका थिए । प्रधानमन्त्री दाहाल र कांग्रेस नेताहरूको प्रस्तावमा मधेसी मोर्चाले सकारात्मक संकेत देखाएको स्रोतको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री दाहालका साथै उपप्रधानमन्त्रीद्वय कृष्णबहादुर महरा र विमलेन्द्र निधि, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेताहरू वर्षमान पुन, मातृका यादव, पम्फा भुषाल, चन्द्रप्रकाश खनाल, राप्रपा नेता दीपक बोहरा, मधेसी मोर्चाका नेताहरू उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, शरतसिंह भण्डारी, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए