तरहरा(सुनसरी)/ पूर्वक्षेत्रमा सवारी दुर्घटनालाई न्यूनीकरण गर्न क्षेत्रीय ट्राफिक प्रहरीले पूर्वमा दैनिक गतिमापक यन्त्र (राडर गन) प्रयोग गर्ने भएको छ । पूर्वक्षेत्रमा तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका लागि राडर गन प्रयोग गर्न थालिएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका डीएसपी सञ्जीव शर्माले बताए । पूर्वमा दैनिक एकजनाको मृत्यु भइरहेको चिन्ता व्यक्त गर्दै उनले केही दिनयता राडर गनको प्रयोग नियमित गर्न थालेको वताए । सडकमा कुन सवारी कति गतिमा गुड्दै छ भन्ने जानकारी लिन ट्राफिकले यो मेसिन प्रयोग गर्न थालेको हो । ‘राडर गनको जाँचबाट जङ्गल क्षेत्रमा मोटरसाइकल, कार, जिप, बसलगायतका प्रायः सबैजसो सवारी साधनले तोकिएको न्यूनतम मापदण्ड उल्लङ्घन गरेको पाइयो ।’ क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर मेघराज थापाले भने । भाउन्नेको जङ्गल क्षेत्रमा राडर गन प्रयोग गरी गरिएको जाँचमा धेरैजना कारवाहीमा परे । तीव्र गतिकै कारण कारवाहीमा परेको सवारीका धनी एकलाल श्रेष्ठले यात्रुको सुरक्षाका लागि जाँच गरिनु राम्रो भएको भन्दै ट्राफिकको प्रशंसा गरे । तीव्र सवारी चलाएकै कारण दुर्घटना बढ्दै गएको उनीहरूको पनि निष्कर्ष छ । तीव्र गतिमै मोटरसाइकल चलाएपछि कारवाहीमा परेका विष्णु भट्टराईले सवारी दुर्घटना धेरै भइरहेको अवस्थामा ट्राफिक प्रहरीको काम राम्रो भएको बताउँदै सबै चालकहरू यसप्रति सचेत हुनुपर्ने जनाए । ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मोटरसाइकलका लागि प्रतिघण्टा अधिकतम ५० देखि ६० किलोमिटरसम्म र चारचक्के सवारीले अधिकतम ८० किलोमिटरसम्म मात्र कुदाउन पाउने प्रावधान छ । तर जाँचका क्रममा मोटरसाइकलले ८० देखि ९० किलोमिटर प्रतिघण्टासम्म र चार चक्केले एक सयदेखि एक सय २० किलोमिटरसम्मको गतिमा सवारी कुदाएको पाइएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरीले विभिन्न ठाउँमा गरी हालसम्म ८ सय ८८ सवारीलाई कारवाही गरिसकेको छ ।