काठमाडौं/ भोलि बैशाख एक । नेपाली मितिअनुसार भोलि नयाँ वर्ष वर्ष हर्षोल्लासका साथ मनाइँदैछ । नयाँ वर्षसँगै नेपालीले आफूले गतवर्षमा पूरा गर्न नसकेका सपनालाई पनि पूरा गर्ने र आफ्नो उपलब्धीको वर्ष मूल्याकंन समेत गर्ने गर्छन् । आफूले सुधार्नुपर्ने कुरालाई पनि नयाँ वर्षसँगै सुधार्न वाचा गर्छन् । एक वर्षको समयावधिमा नेपाली चलचित्रमा पनि थुप्रै परिवर्तन आए । वर्षभरीमा ९० चलचित्र निर्माण पनि भए । नेपाली चलचित्र जगतमा नयाँ नायक नायिकाको पनि आगमन भयो । पुराना कलाकारले पनि आफूलाई स्थापित गराउन संघर्षरत भए ।

यही सन्दर्भमा आज हामीले केही फिल्मकर्मीसँग नयाँ वर्ष कस्तो रह्यो भनेर सोधेका संवाद गरेका छौं ।

वर्षा राउत, अभिनेत्री

अभिनेत्री वर्षा राउतका लागि यो वर्ष सुखद् रह्यो । म्युजिक भिडियोसहित अन्य केही चलचित्र ‘छक्का पञ्जा’ र जात्रामा पनि अभिनय गरिन् । ‘अरु आधा दर्जन चलचित्रबाट समेत अफर आएका थिए, तर मलाई यी दुई चलचित्र राम्रा लागेर काम गरें ।’ वर्षा भन्छिन्, ‘नयाँ वर्षमा के गर्ने भन्ने योजना अझै बनिसकेको छैन ।’ यही वर्ष उनलाई चलचित्रले अझ धेरै चर्चित बनायो । पहिलेको वर्षका तुलनामा उनको यो वर्ष अझै फलदायी भयो ।

झरना थापा, अभिनेत्री

यो वर्ष पनि झरना थापाका लागि राम्रो भयो । आफ्नो निर्मात्री तथा अभिनेत्रीको परिचयलाई उनले ‘निर्देशक’ का रुपमा पनि काम गरिन् । भोलिको दिनमा भने उनको खासै योजना छैन । साथीभाइ र परिवारसँगको भेटघाटमा नै नयाँ वर्ष मनाउने उनको योजना छ । ‘यो वर्ष मैले निर्देशन गर्ने मौका पाएँ । नयाँ काम गर्न पाउँदा रमाइलो पनि हुने रैछ ।’ झरना भन्छिन्, ‘वर्ष २०७४ मेरा लागि महत्वपूर्ण वर्ष हुनेछ । मेरो निर्देशनको चलचित्र प्रदर्शन हुने वर्ष पनि हो ।’

हरेक दिन झरनाका लागि नयाँ वर्ष नै लाग्छ । हरेक बिहानीमा आफूले नयाँ सपना देखेको र नयाँ सिकाइ हासिल गरेको उनी बताउँछिन् ।

केदार घिमिरे (माग्ने बुढा) , हास्य कलाकार

केदार घिमिरेको यो वर्ष भने पीडादायी रह्यो । वर्षभरी नै बिरामी परेका माग्ने बुढाले आफ्नो आधा समय औषधिमा नै बिताए । हस्पिटल जाने र आउने भएका उनका लागि यो वर्ष त्यति प्रभावकारी भएन । आफूले खेलेका केही चलचित्रले भने उनलाई अझ बढी चर्चित बनायो ।

‘वर्ष २०७४ मा सकभर फरक जुन पायो त्यो फिल्ममा काम गर्न नपरे हुन्थ्यो ।’ माग्ने भन्छन्, ‘नयाँ वर्षलाई विशेष बनाउने योजना छैन । अघिपछिको दैनिकी जस्तै भएपनि आफ्नै वर्ष भएकाले केही नयाँ गर्न भने सक्छु ।’ उनलाई यो वर्षभरीमा माग्नेकै भूमिकामा सबैले चिने । नयाँ भूमिकामा उनलाई दर्शक तथा निर्देशकले पत्याउनै छोडे ।

सुदर्शन थापा, निर्देशक, अभिनेता

लभ स्टोरी चलचित्रमा निर्देशनमा आफ्नो परिचय बनाएका यी नायकको पनि वर्ष २०७३ सामान्य नै बित्यो । यो वर्ष उनका आशातित फिल्म आएनन् । वर्षको अन्त्यसँगै उनी भने चलचित्र ‘म यस्तो गीत गाउँछु’ को छायांकनमा व्यस्त छन् । उनले नयाँ वर्ष पनि निर्माण समूहसँग पोखरामा नै मनाउने योजनामा छन् ।

‘यो वर्ष परिवारका लागि समय दिन पाइएन । हामीले शूटिङ युनिटसँगै नयाँ वर्ष मनाउने योजना बनाएका छौं ।’ सुदर्शन सुनाउँछन्, ‘नयाँ वर्ष भने मेरा लागि महत्वपूर्ण हुनेछ । फिल्म प्रदर्शन र प्रमोशनमा बित्नेछ ।’उनको यो वर्ष भने योजना बनाउँदा बनाउँदै बित्यो ।

दीपाश्री निरौला, निर्देशक, अभिनेत्री

वर्ष २०७३ का लागि यो वर्ष दीपश्री निरौलाका लागि सफलतै सफलता हात लाग्यो । उनले निर्देशन गरेको चलचित्र ‘छक्का पञ्जा’ ले नेपाली चलचित्र उद्योगमा सबैभन्दा धेरै कमाउने चलचित्र बन्यो । ‘मेरो पच्चीस वर्षे यात्रामा यो वर्ष मेरा लागि खास वर्ष बन्यो ।’ दीपाश्री भन्छिन्, ‘महिला निर्देशकका रुपमा किर्तिमानी नै राख्न सफल भयो छक्का पञ्जाले ।’

यही वर्ष उनले गाडी फेरिन् । नयाँ चलचित्र ‘छक्का पञ्जा फेरि’ को निर्देशन समेत गर्ने भइन् । उनका लागि वर्ष २०७४ पनि महत्वपूर्ण वर्ष हुनेछ ।

पुष्पल खड्का, नवअभिनेता

पुष्पल खड्काको पनि यो वर्ष भाग्योदय भयो । यही वर्ष उनले चलचित्र ‘दर्पण छायाँ २’ मा काम गर्ने मौका पाए । चलचित्र त्यति सफल नभए पनि उनले चलचित्र ‘मंगलम्’ मा समेत काम गर्ने मौका पाए । ‘यो वर्ष मेरा लागि सफलताको वर्ष हो । अर्को वर्ष अझै धेरै प्रगति गर्नुछ ।’ पुष्पल भन्छन्, ‘नयाँ वर्षमा अझै आकर्षक लुक सहित नयाँ ट्रयाक समात्नेछु ।’

नयाँ वर्षको उनको त्यति धेरै योजना छैन । बैशाख १ गतेदेखि नै उनी जिम जान थालेका छन् । आफ्नो ज्यान सिक्स प्याक बनाउने योजनामा छन् । नयाँ वर्षमा साथीहरुसँग सेलिब्रेट गर्ने योजना भए पनि उनी म्युजिक भिडियोको शूटिङ हुने भएकाले साथीभाइको भेटघाट पनि क्यान्सल गरेका छन् ।