
भक्तपुर/भक्तपुरकी रेनुका सुवाल आफ्ना प्रेमी रत्नसुन्दर छेबुतलासँग सूर्यविनायकमा साथीको बिहे भोज खाएर फर्किंदै थिइन्। घटना फागुन २९ गतेको हो। रत्नले रेनुकाको स्कुटर हाँकिरहेका थिए। रत्नलाई कोलाक्छेमा ओरालेपछि त्यहाँबाट आफैं स्कुटर हाँकेर ब्यासीस्थित घर जाने उनको योजना थियो। रातिको साढे ९ बज्यो। उनीहरू पोर्टरस्क्वायर आइपुगे। त्यहाँ दुई जना युवकले स्कुटर रोक्न खोजे। रोकिन नपाउँदै एक युवकले रत्नसुन्दरको छातीमा बेस्सरी मुक्का हाने। स्कुटर नराम्ररी लडखडायो। तै लडिहालेन। रत्नसुन्दरले छातीको चोट सहँदै बेतोडले स्कुटरको एक्सिलेटर बटारे। सय मिटरसम्म स्कुटर हुइँकियो। त्यसपछि भने सन्तुलन थाम्न सकेनन्, भुइँमा बजारियो। हल्लाखल्ला भयो। केही बेरमै प्रहरी र स्थानीय जम्मा भए। रेनुकाले रत्नसुन्दरका दाजुलाई फोन गरिन्। घटनाक्रम संक्षेपमा सुनाइन्। रत्नसुन्दरलाई एम्बुलेन्समा हालेर जिल्ला अस्पताल लगियो। प्रहरीले रेनुकालाई नियन्त्रणमा लियो। स्कुटर पठाउन नमिल्ने बतायो। त्यसपछि रेनुकाले आफ्ना दाइलाई बोलाइन्। राति १२ बजेतिर प्रहरीले दाजुको जमानीमा रेनुकालाई छाड्यो, तर स्कुटर छाडेन। त्यो रातभरि रेनुकालाई निन्द्रा परेन। अस्पतालमा रहेका रत्नसुन्दरका बारेमा सोधपुछ गरिरहिन्। उनको अझै होस खुलेको थिएन। यसबीच राति नै रत्नसुन्दरका आफन्त आएर रेनुकासँग घटनाबारे सोधपुछ गरे। भोलिपल्ट बिहान ५ बजे नै रेनुका बहिनीलाई लिएर अस्पताल पुगिन्। अस्पतालमा कोही भेटिनन्। रत्नसुन्दरका दाजुलाई फोन गरिन्। घरै आउनू भन्ने जवाफ पाएपछि रेनुका कोलाक्छे पुगिन्। घर पुगेपछि बल्ल रेनुकालाई थाहा भयो, रत्नसुन्दरलाई त अस्पतालले मृत घोषित गरिसकेछ। रेनुकालाई त्यसै दिन रत्नसुन्दरको हत्या आरोपमा भक्तपुर प्रहरीले पक्राउ गर्यो। रेनुकाले आफ्नो संलग्नता इन्कार गर्दै घटनाक्रम बताइन्। प्रहरीले उनको बयानअनुसार दुई जना युवकको स्केच तयार पार्यो। स्केच तयार पारे पनि भक्तपुर प्रहरीलाई रेनुकाको बयानमाथि पत्यार थिएन। त्यही भएर थप अनुसन्धान अघि बढाएन। बरू कर्तव्यज्यानमा रेनुकामाथि नै जिल्ला अदालतमा मुद्दा चलायो। रेनुकाले अनुसन्धान गर्ने अधिकृतलाई ‘मैले मारेको होइन’ भनेर बारम्बार भनिन्। तर, उनको कुरा सुन्ने कोही भएन। प्रहरीले ‘हत्याका अभियुक्त समातियो’ भन्दै सञ्चारमाध्यममा विज्ञप्ति पठायो। र, रेनुकाका दाजु राजेशलाई तीन दिन र ज्वाइँ पुरूषोत्तम पक्कालाई एक दिन हिरासतमा राख्यो। यसबीच महानगरीय अपराध महाशाखा टेकुले चैत १६ गते यो घटनाबारे थप अनुसन्धान सुरु गर्यो। महाशाखाले उपत्यकाभर भएका घटनामा सूक्ष्म अनुसन्धान गरिरहेको हुन्छ। भक्तपुरको यो घटनामा केही खोट रहेको शंका लागेपछि महाशाखाका एसएसपी दिनेश अमात्य आफैं भक्तपुर गएर प्रहरी हिरासतमा रहेकी रेनुकालाई भेटे। रेनुकाले आफूले रत्नसुन्दरलाई नमारेको बयान दिइन्। अमात्यले एसपी श्याम ज्ञवाली र डिएसपी दीपक रेग्मीलाई घटनाबारे अनुसन्धान गर्न निर्देशन दिए। यी दुई जनाको टिमले घटनाबारे थप अनुसन्धान थाल्यो। घटनास्थलमा गएर फेरि सोधखोज सुरू गर्यो। उनीहरूले रेनुकाको बयानका आधारमा बनेको स्केचसँग मिल्दोजुल्दो स्थानीय मनोज कपाली र किशोर दुवाललाई पक्राउ गरे। स्केचमा लामो कपाल पालेका मनोजले कपाल काटेर आफ्नो हुलिया परिवर्तन गरिसकेका थिए। सोधपुछ क्रममा मनोजले रत्नसुन्दरमाथि आक्रमण गरेको स्वीकारे। रत्नसुन्दरको छातीमा बेस्सरी मुक्का प्रहार हुँदा मुटुका भल्भ बन्द भई मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख थियो। ‘मनोज कपाली र किशोर दुवाललाई पक्राउ गरेपछि उनीहरूले नै रत्नसुन्दरमाथि आक्रमण गरेको स्वीकारे,’ महाशाखाका एसएसपी अमात्यले भने। यतिबेलासम्म रेनुकाले हिरासतमा १७ दिन बिताइसकेकी थिइन्। हत्याका अभियुक्त पक्राउ परेपछि आफूलाई मुक्त गरिएला भन्ने उनले सोचेकी थिइन्। तर, त्यो पूरा भएन। प्रहरीले अदालतमा कर्तव्यज्यान मुद्दा दायर भइसकेको भन्दै छाड्न मानेन। २६ दिनपछि बल्ल जिल्ला अदालतको आदेशमा २५ हजार धरौटी राखेर रेनुका तारेखमा छुटिन्। मनोजसँगै पक्राउ परेका किशोर दुवाल पनि १५ हजार धरौटीमा रिहा भए। अनुसन्धानमा संलग्न एसएसपी अमात्यका अनुसार मनोजले नशाको सुरमा आफूले आक्रमण गरेको र त्यो योजनाबद्ध नभएको बयान दिएका छन्। ‘प्रहरीले बेलैमा राम्ररी अनुसन्धान गरेको भए मैले बिनाकसुर २६ दिन थुनामा बस्नुपर्ने थिएन,’ रेनुकाले भनिन्। प्रहरीले आफ्नो बयान अस्वीकार गर्दै परिवारका सदस्यलाई समेत दुःख दिएकोमा गुनासो गर्दै उनले भनिन्, ‘मलाई त प्रहरी हिरासतमै आत्महत्या गरूँ कि जस्तो लाग्न थालिसकेको थियो।’ भक्तपुर प्रहरीले आफ्नो बयानका आधारमा अनुसन्धान अघि बढाउन तदारूकता नदेखाएको रेनुकाको भनाइ छ। ‘तैंले नै मारेको होस्, कसरी मारिस्, के ले हानेर मारिस् भन्नेतर्फ मात्र उनीहरू गए, मेरो कुरामा अलिकति पनि विश्वास गरेर अनुसन्धान गरेका भए पहिल्यै छर्लंग हुन्थ्यो।’ भक्तपुर प्रहरी परिसरका प्रवक्ता डिएसपी कृष्ण प्रसाईंले भने रत्नसुन्दरको हत्यापछि पीडित परिवारको किटानी जाहेरीका आधारमा रेनुकालाई पक्राउ गरिएको बताए। ‘अनुसन्धान क्रममा रेनुकाको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो, अरू थप दुई जनालाई पनि पक्राउ गरी कर्तव्यज्यान मुद्दा चलाइएको छ,’ उनले भने, ‘हामीले अदालतमा बुझाएका हौं, अदालतले के गर्यो उतै बुझ्नुहोला।’