झापा/चारवटा सामुदायिक वनमा ‘वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम’ सुरु भएको छ ।
साल (सखुवा) जातको वनलाई स्थापित, पुनः उत्पादन र दिगो व्यवस्थापन गर्न कालिका सामुदायिक वन धाइजन (२०० हेक्टर), चन्द्रगढी सामुदायिक वन चारआली (४३० हेक्टर), हातेमालो सामुदायिक वन मेचीनगर (३९१ हेक्टर) र हरियाली सामुदायिक वन चारआली (१४७ हेक्टर)मा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु भएको जिल्ला वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए ।
चारवट सामुदायिक वनको कुल एक हजार १६४ हेक्टरमा ८० बर्से गुरुयोजनासहित काम सुरु भएको हो । हातेमालो र हरियाली सामुदायिक वनमा पहिलो चरणको काम सुरु भइसकेको छ भने कालिका र चन्द्रगढी सामुदायिक वनमा चाँडै कार्यक्रम सुरु हुने कार्यालयले जनाएको छ ।
असी बर्से गुरुयोजनाअन्तर्गत प्रत्येक सामुदायिक वनलाई आठवटा ब्लकमा विभाजन गरिनेछ । हरेक ब्लकमा १० बर्से कार्ययोजनाअनुरुप काम हुनेछ । प्रत्येक ब्लकलाई पुनः १० वटा कम्पाटमेन्टमा र कम्पाटमेन्टलाई पुनः सवकम्पाटमेन्टमा विभाजन गरिने उप्रेतीले बताउनुभयो । छहारी रहेका बिरुवालाई हुर्कन दिनका लागि प्रतिहेक्टर १५ देखि २५ वटासम्म माउ रुख राखिनेछ ।
प्रत्येक सवकम्पाटमेन्टमा रहेका रुखको सङ्ख्या, रुखका प्रजाति, रुखको मोटाइलगायतका तथ्याङ्क राखिनेछ । जसले वनको वास्तविक अवस्था पत्ता लगाउन र वन पैदावार निकाल्न सहज हुने उप्रेतीले बताए ।
प्रत्येक सामुदायिक वनको वरिपरि पाँच मिटरको नालासहितको रिङ्रोड निर्माण हुनेछ भने प्रत्येक ब्लकमा तीन मिटरको बाटो बन्नेछ । वनको संवद्र्धन, चोरी निकासी, आगलागी नियन्त्रणका लागि पूर्वाधारको विकास गरिने उहाँको भनाइ छ ।
वैज्ञानिक वन व्यस्थापनबाट प्रत्येक १० वर्षपछि वन पैदावार निकाल्न सकिनेछ । योजना पूरा भइसकेपछि सुरुमा निर्माण गरिएको क्लबमा रुख काट्न सकिनेछ । सामुदायिक वनबाट प्रत्येक १० वर्षमा गुणस्तरीय काठ निकाल्न सकिनेछ । हाल जिल्लामा १५ हजार हेक्टरमा ५९ वटा सामुदायिक वन रहेका छन् । रासस