एजेन्सी/ बलिउडमा सक्रिय कतिपय कलाकारको जीवनशैली लगभग रिल लाइफजस्तै छ । एउटा फिल्मको सुटिङमा जोडिएको सम्बन्ध फिल्म रिलिज नहुँदै टुटिसक्छ । केही कलाकार यस्ता पनि छन्, जो दसौं वर्षसँगै बसे र छुट्टिए । हेरौं, पटकपटक प्रेमी फेर्ने कलाकार को–को रहेछन् : सलमान खान : सबैभन्दा धेरै नायिकासँग सम्बन्ध राख्ने र टिकाउन नसक्ने नायकका रूपमा चिनिन्छन् सलमान खान । संगीता बिजलानी, सोमी अली, ऐश्वर्या रायदेखि कट्रिना कैफसँग पनि कुनै समय उनको हिमचिम थियो । तर, अहिले एक्ला छन् । सन १९८० ताक सलमान र संगीता बिजलानीको अफेयर थियो । मिस इन्डियाको ताज जितेकी संगीता–सलमानको बिहेसमेत हुने कुरो थियो । तर, त्यत्तिकै ट¥यो । त्यसपछि सलमान र सोमी केही समय अफेयरमा रमाए । सलमानको व्यवहार ठीक नभएको भन्दै सोमी टाढिइन् । लगत्तै सलमान र ऐश्वर्या रायनजिक भए । ऐश्वर्या–सलमानको सम्बन्ध पनि पाँच वर्ष बढी टिकेन । ऐश्वर्यासंग सम्बन्ध टुटेको केही समयपछि ‘मैने प्यार क्यु किया’ मा काम गरे । उक्त फिल्ममा काम गर्ने क्रममा कट्रिना कैफ र सलमान नजिक हुन पुगे । अहिले कट्रिना सलमानको सम्बन्धमा पनि ब्रेक लागिसकेको छ । अक्षय कुमार : युवतीसँग सम्बन्ध गाँस्ने र टुटाउने मामिलामा अक्षयकुमार पनि माहिर छन् । पूजा बत्रा, शिल्पा सेट्टीदेखि र विना टण्डनसँग पनि उनको अफेयर थियो । ट्विङ्कल खन्नासँग विवाह गरेपछि अन्य युवतीहरू अक्षयबाट टाढिए । अक्षयले फिल्ममा डेब्यु गर्नुअघि नै पूजा बत्रासँग चक्कर चलाएका थिए, जतिबेला पूजा सुपरमोडलका रूपमा चिनिन्थिन् । फिल्ममा प्रवेश गरेलगत्तै अक्षयले पूजाको साथ छाडे भने आयशा जुल्कासँग केही समय रोमान्समा रमाए । आयशासंग उनले ‘दिलका बाजी’, ‘वक्त हमारा है’, ‘जय किसन’ आदिमा काम गरे । जब मोहरामा रविना टण्डनसंग काम गरे आयाशासँग उनको सम्बन्धमा पूर्णविराम लाग्यो । रविनासँग सम्पर्कमा हुँदाहुँदै मै खिलाडी तु ‘अनाडी’ मा शिल्पा सेट्टीसँग काम गरे । शिल्पासँग काम गरेपछि केही वर्ष उनी शिल्पाकै प्रेममा रमाएका थिए । दीपिका पादुकोण : मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेकी दीपिका पादुकोण मोडलिङमै सक्रिय हुँदा निहार पन्डयासँग अफेयरमा थिइन् । सन् २००८ मा बचना ए हसिनोमा काम गरेपछि रणवीर कपुर र दीपिकाको अफेयर सुरु भयो । त्यसो त व्यवसायी विजय माल्याको छोरा सिद्धार्थसँग पनि दीपिकाको अफेयर रहेको हल्ला थियो । पछिल्लो समय दीपिकाको सम्बन्ध रणवीर सिंहसँग छ । सञ्जय लीला भन्साली निर्देशित चलचित्र ‘रामलीला’ मा काम गर्ने क्रममा उनीहरूको प्रेमलीला सुरु भएको थियो । करिना कपुर : सेफअलि खानकी श्रीमती करिना कपुर पनि केही नायकहरूको अफेयरमा रमाएकी थिइन् । ऋतिक रोशन, फरदिन खान र साहिद कपुरसँग करिना रिलेसनमा रहिन् । साहिद कपुरसँग सम्बन्ध निकै चर्चित रह्यो । साहिद करिनाले ‘फिदा’, ‘३६ चाइना टाउन’, ‘चुपचुप के’, ‘जब वी मेट’ र ‘मिलेंगे–मिलेंगे’ मा काम गरे । जब वी मेटको सुटिङका क्रममा उनीहरूको सम्बन्ध विच्छेद भएको थियो ।   विपाशा बसु : सन् १९९६ मा पहिलोपटक विपाशा बसुलाई सुपर मोडल जेसियाले मोडलिङका लागि अफर गरेका थिए । सोही वर्ष विपाशाले गोदरेज सिन्थोल सुपर मोडल कन्टेस्ट जितिन् । त्यसपछि डिनो मोरियासँग केही व्यावसायिक विज्ञापनमा काम गरिन् । सोही क्रममा उनीहरूबीच दोस्ती बढ्यो । दुवैले हिन्दी फिल्म ‘राज’ मा काम गरे । ६ वर्षसम्म अफेयरमा रहेका उनीहरूको त्यसपछि ब्रेकअप भयो । सन् २००३ मा जिस्ममा काम गरेपछि जोन अब्राहम र विपाशा नजिकिए । त्यसपछि १० वर्षसम्म उनीहरू लिभ इन रिलेसनमा रहे । जोनसँग ब्रेकअप भए पनि हरमन बावेजा र विपाशाको सम्बन्ध स्थापित भएको पनि हल्ला चल्यो । तर, सन २०१५ मा करणसिंह ग्रोवरसँग भेट भएपछि विपाशाले विवाह नै गरिन् । उनीहरूले चलचित्र अलोनमा पनि सँगै काम गरेका छन् ।