धरान/पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयकी प्रअको राजिनामाको माग गर्दै आन्दोलित ६ जना शिक्षकहरुले प्रअको कार्याकक्ष तालाबन्दी गरेका छन् । बुधबारबाट तालाबन्दी गर्दै कार्याकक्ष प्रवेशमा रोक लगाएका छन् । तर, प्रअ केशरी थापाले जुन माग राखेर आन्दोलन थालेका छन् त्यो मागको कुनै औचित्य नभएको बताइन् । उनले भनिन्, ‘जुन–जुन माग राखेर आन्दोलनमा उत्रिनुभएको छ । त्यो त पहिल्यै पूरा भएका छन् । त्यसमा नयाँ त केही छैन् ।’ तर, आन्दोलनलाई नेतृत्व गरिरहेको करार शिक्षक प्रकाश कार्कीले भने राजिनामा नदिएसम्म आन्दोलन नरोकिने बताए । उनीहरुले प्रअको चारैतिरको ढोकामा तालाबन्दी गर्दै राजिनामाको माग टाँस गरेका छन् । उनले राजिनामा नदिए ६ जना शिक्षकहरु नै विद्यालय छाड्ने चेतावनी दिएका छन् । तर, यस विषयमा शिक्षक कार्की भन्दा अन्यले केही बोलेका छैनन् । प्रअ थापाको ज्यादतीको विरुद्धको आफूहरुको आन्दोलन रहेको भन्दै सोमबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए । प्रअ थापाले आफूले कुनै पनि ज्यादती नगरेको त्यो बेला मै प्रष्टिकरण दिएकी थिइन् । खासमा प्रअको चाडै नै अवकास हुने भएकाले पनि प्रअ बन्ने दाउँमा केही शिक्षकहरु लागेको बताइन्छ । तालाबन्दीका कारण प्रशासनिक कार्यहरु ठप्प भएका छन् भने विद्यार्थी भर्नामासमेत समस्या परेको स्कुल प्रशासनले जनाएको छ । सम्पूर्ण कार्य प्रअ मार्फत् नै हुने भएकाले पनि प्रअको कार्याकक्षमा लागेको तालाबन्दीले समस्या आएको प्रअ थापाले बताइन् ।