झापा । अक्टोबर महिनाभर विभिन्न सचेतनामुलक कार्यक्रमका साथ विश्व स्तन क्यान्सरबिरुद्ध कार्यक्रम भए पनि झापामा कुनै कार्यक्रम नगरिएको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । क्यान्सरका रोगी बढे पनि यसपटक डेंगु रोग फैलिएका कारण अन्य कार्यक्रम गर्न नपाएको कार्यालयले जनाएको हो । क्यान्सर रोग मध्ये पाठेघरका क्यान्सरका रोगी, स्तन क्यान्सरका रोगी धेरै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुधन कोइरालाले जानकारी दिदै कार्यक्रम गर्न नसकिएको स्वीकार गरेका छन् । सामान्यतया महिलाले आफ्नो शरीरमा भइरहेको परिवर्तनबारे ख्याल नगरेका कारण पनि यो रोग बढी रहेको जनस्वास्थ्य प्रमुख कोइरालाले बताए । खासगरी महिलाको स्तनमा आउने स–साना गिर्खा, गाँठागुठी कहिलेकाहीँ स्तन क्यान्सरको लक्षण पनि हुन सक्छ भन्ने भएकाले बेलैमा सतर्कता अपनाउन कोइरालाले आग्रह गरे । वंशाणुगत कारण, ३० वर्ष उमेर कटेपछि बच्चा जन्माउने आमा, स्तनपान नगराउने आमा, पहिलेदेखि नै स्तनमा गाँठागुठी भएका महिला, महिनावारी चाँडै शुरु भई ढिला बन्द हुने महिला, मोटोपन भएका महिला, धेरै चिल्लो बोसोयुक्त खाना खाने र सुर्तीजन्य पदार्थ सेवन गर्ने महिला स्तन क्यान्सरको उच्च जोखिममा रहने चिकित्सकहरुको भनाइ छ । पछिल्लो समय महिलाहरुले आफ्ना बच्चालाई स्तनपान गराउन छाडेकाले पनि स्तन क्यान्सरका बिरामी बढ्न थालेको बताइएको छ । यसैबीच झापामा नसर्ने रोगका बिरामीहरु बढेको जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्याङ्क शाखाका तोया दाहालले जानकारी दिए । उनका अनुसार क्यान्सर रोगी बढे पनि कुन क्यान्सरका बिरामी कति छन् भन्ने तथ्याङ्क छैन । झापामा दिनप्रतिदिन क्यान्सरका रोगी बढी रहेको दाहालले जनाए । आर्थिक वर्ष २०७१/०७२मा २ सय ३३ जनालाई जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस गरिएका उनको भनाइ छ । त्यस्तै आर्थिक वर्ष २०७२/०७३ मा २ सय ५६ रहेकोमा गत आर्थिक वर्ष २०७३/०७४ मा ३ सय ५९ जनामा क्यान्सर रोग रहेको तथ्याङ्क शाखाका दाहालले जानकारी दिए । झापामा महिला क्यान्सर रोगी धेरै रहेको तथ्याङ्कमा उल्लेख छ । क्यान्सर रोग लागेमा सरकारले एक लाख रुपैयाँसम्मको उपचार सहुलियत दिने व्यवस्था गरेको छ ।