विराटनगर/ प्रतिनिधि र प्रदेश सभाको निर्वाचन पछिको मतगणना विराटनगरस्थित आदर्श उच्च मा.वि. गणना नगर्न अभिभावहरुले माग गरेका छन् । विद्यार्थीको पढाई प्रभावित हुने भन्दै सो विद्यालयमा अध्ययन गराउने अभिभावकहरुले निर्वाचनपछि मतगणनाको काम नगरिदिन माग गरेका हुन् । बारम्बार विद्यालयमा मतदान, मतपेटीका भण्डारण र मतगणना सम्मको काम गरिदाँ विद्यालयमा अध्ययन गर्ने आफ्ना सन्तानको पढाई प्रभावित भएको भन्दै अभिभावकले सम्बन्धित निकायको ध्यानआकर्षण गराए । गत स्थानीय तह निर्वाचनको समयमा समेत १५ दिनसम्म पढाई प्रभावित भएको आदर्शमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान केन्द्रसँगै मतपेटीका भण्डारण तथा मतगणना गर्ने केन्द्र तोकिएको छ । तर, अभिभावकहरुले भने एउटै शैक्षिक सत्रमा बारम्बार एउटै विद्यालयमा निर्वाचनसँग सम्बन्धित कामहरु गरिदाँ पढाई प्रभावित हुने भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङ र क्षेत्रीय निर्वाचन अधिकारी समक्ष ज्ञापन पत्र नै बुझाएका छन् । पढाई प्रभावित हुनेगरी निर्वाचनसँग सम्बन्धित गतिविधि गरिदाँ बालबालिकामा समस्या हुने देखिएको विद्यालयका प्राचार्य दुर्गा चुँडालको भनाई छ । नीजि विद्यालयहरुको मार खेपिरहेका सामुदायिक विद्यालयको पढाई लामो समयसम्म प्रभावित हुनबाट रोक्नुपर्ने उनको तर्क छ । विद्यालयमा एकहजार ५ सय २९ विद्यार्थी अध्ययनरत रहेका छन् । क्षेत्रीय निर्वाचन अधिकारी प्रेम सञ्जेलले आदर्श विद्यालय बाहेक अन्य कार्यलयमा सुरक्षाको दृष्टिकोणले असर पुग्ने र एकै स्थानमा मतगणनाको काम गर्नुपर्ने भएकोले विकल्प नभएको बताए ।