इटहरी/ प्रदेश सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्वर २ ‘क’ बाट इटहरीका संस्थापक मेयर सर्वध्वज साँवा विजयी भएका छन् । नेपाली काँग्रेसका युवा नेता हेमकर्ण पौडेललाई पराजित गर्दै साँवा प्रदेश सभा सदस्य बनेका हुन् ।
आइतबार साँझ मत गणना सकिए पनि निर्वाचन आयोगले घोषणा नगर्दै इटहरी–४ स्थित साँवाको घरमै पुगेर प्रतिष्पर्धी पौडेलले पहिलो अविर र माला पहिराए । पौडेलले जीत हार लाई सहर्स स्वीकार गर्दै आफू यस क्षेत्रका साझा मुद्धामा सहकार्य गर्न तयार रहेको बताए । निर्वाचित साँवाले पनि उपस्थित सञ्चारकर्मी र प्रतिष्पर्धी पार्टीका नेता कार्यकर्तालाई इटहरी राजधानी बनाउने मुद्धामा सहयोग गर्न आग्रह गरे । वाम गठबन्धनका उमेद्वार साँवाले २४ हजार ६ सय ७४ मत पाउँदा नेपाली काँग्रेसका हेमकर्ण पौडेलले १९ हजार २ सय ४५ मत प्राप्त गरेका थिए ।
ब्लाष्टसँग कुरा गर्दै साँवाले जनताले दिएको अपार मायालाई आफूले घात नगर्ने बताए । ‘मेरो अनुभवले पनि यहाँका जनताले पत्याएका हुन्’ उनले भने ‘अव इटहरी प्रदेश नम्वर १ को राजधानी बनाउने मेरो खुख्य एजेण्डा हुनेछ ।’
आफूलाई निकटतम प्रतिद्वन्द्वी हेमकर्ण पौडेलले विजयी पछि पहिलो टिका र माला पहिराएकोले पनि आफू थप उत्साहित भएको उनले बताए । यो लोकतन्त्रको सून्दर पक्ष हो, यसले मलाई काम गर्न पनि सघाउ पुग्ने छ भने इटहरीको विकासका मुद्धा स्थापित गर्न पनि सहजता मिल्नेछ । यसलाई इटहरीबासी साझा मुद्धामा एक हुन्छन् भन्ने उदाहरणका रुपमा बुझ्न पनि उनले आग्रह गरे । इटहरी प्रदेशको राजधानी प्रमुख मुद्धा भए पनि बाढी प्रभावित क्षेत्रको व्यवस्थापन, इटहरीलाई खेलकुदको राजधानी बनाउने योजना रहेको पनि उनले बताए । ‘ इटहरीको मुख्या सडकमा आकाशे पुल पनि बनाउने योजना छ’ साँवाले भने ‘स्वरोजगारको लागि तालिम केन्द्र र पुष्प नगरीको रुपमा विकास गर्ने पनि उनले बताए ।’ इटहरीमा मेयर हुँदा साँवाले इटहरीलाई हरित नगरीको रुपमा स्थापित गरेका थिए ।