शनिश्चरे/वाम गठवन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित भएकाहरुको खुसीयालीमा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ को बेलबारी र ६ को सलकपुर क्षेत्रमा वुधबार विजय र्याली निकालिएको छ ।

वाम गठवन्धनका तर्फबाट मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि निर्वाचित नेकपा एमालेका पोलिटव्यूरो सदस्य भानुभक्त ढकाल र (ख) प्रदेशसभाका लागि निर्वाचित एमालेकै राजकुमार ओझालाई सामेल गराई प्रदेश (ख) को वेलवारी नगरपालिका क्षेत्रमा विजय र्याली निकालिएको हो ।

वाम गठवन्धनको क्षेत्रीय निर्वाचन परिचालन कमिटीको संयोजनमा बस, मोटरसाइकल, कार र सिटी सफारीमा एमाले र माओवादी केन्द्रका नेता, कार्यकर्ता एवम् मतदाता गरी ठूलो संख्या र्यालीमा सहभागि थियो । विजयको खुसीयालीमा ढकाललाई अविरजात्रा गर्दै सहभागि सवैले रातो टिका लगाएर नाचगान सहितको र्यालीले वेलबारी नगर क्षेत्र परिक्रमा गरेको छ । बेलबारीमा कोणसभा सम्पन्न भएको छ ।

कोणसभामा, नवनिर्वाचित ढकालले आफुले क्षेत्रको सुकुम्वासी तथा अव्यवस्थित वसोवास, खोला कटानको समस्या समाधान गर्दै पर्यटन तथा पूर्वाञ्चल विश्वविद्यालयको प्रवद्र्धन, बाहुनीको पेटेलखानीको अन्वेषण र उत्खनन्का साथै आदिवासी जनजाति प्रतिष्ठान निर्माण सहितका जनताको चौतर्फी समृद्धिका लागि आफ्ना प्रतिवद्धता पुरा गर्ने बताएका छन् । उनले पथरीशनिश्चरेस्थित भूटानी शरणार्थी शिविर रहेको क्षेत्रमा शरणार्थीहरुको ऐतिहासिकतालाई समेत जोगाउँदै आदिवासी जनजाती प्रतिष्ठान तथा संग्रहालय निर्माण गर्ने उपयुक्त ठाउँ भएको सुझाव समेत आएको उल्लेख गरे । यसका साथै उनले स्थीर सरकार निर्माण गरी देशको समृद्धिका लागि समेत आफ्नो भूमिका हुने जनाए ।

नेपाली कांग्रेससंगको दाउपेचको प्रतिष्पर्धामा निकै चर्चामा रहेको सो क्षेत्रका लागि कांग्रेसका सुनील शर्माले भन्दा १ हजार ९ सय ७ मत बढी ल्याएर ढकाल विजयी बने । ढकालले ४२ हजार ४ सय १३ र शर्माले ४० हजार ५ सय ६ मत प्राप्त गरेका थिए । एमालेका युवा नेता ओझाले २ हजार ५ सय ३३ मत अन्तरले २२ हजार ८ सय २० मत ल्याई कांग्रेसका ललितबहादुर श्रेष्ठलाई पराजित गरेका थिए ।

उता, क्षेत्र नम्बर ६ मा कांग्रेसका प्रभावशाली मानिएका नेता डाक्टर शेखर कोइरालाई ६ सय ७५ मतले पछि पार्दै विजय हाँसिल गरेका एमाले पोलिटव्यूरो सदस्य एवम् पूर्व मन्त्री लालवाबु पण्डितको सलकपुर क्षेत्रमा विजय र्याली निस्किएको छ । इमान्दार, कर्तव्यनिष्ठ तथा सादा जीवनका पर्याय नेताका रुपमा चिनिने पण्डितले मंसिर २१ को निर्वाचनमा ३३ हजार ९ सय ४१ मत ल्याएका थिए । प्रतिद्धन्दी कोइरालाले ३३ हजार २ सय ६६ मत हाँसिल गरेका थिए ।