शनिश्चरे/प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रदेश नम्बर १ को कार्यालयका लागि मोरंङको सुन्दरहरैचाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय क्षेत्र उपयुक्त हुने सुझाव दिएपछि सो स्थानले चर्चा पाउन थालेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाब्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकार समक्ष गरेको सिफारिस अनुसार गोठगाउँलाई उपयुक्त हुने सुझाव पेश भएको छ । प्रधानमन्त्री कार्यालयको समन्वयमा सहरी विकास मन्त्रालयले सातै प्रदेशको कार्यालय राख्ने ठाँउको पहिचान गरेको छ । जस अन्तर्गत विज्ञ समितिले प्रदेश १ को कार्यालय गोठगाँउ क्षेत्रमा उपयुक्त हुने सुझाव दिएपछि प्रदेश सभाको बैठक सोही ठाँउमा बस्न लागेको छ । त्यहाँ प्रदेशभाको वैठक बस्ने भएपछि अहिले गोठगाउँको चर्चा सुरु भएको छ । ८ सय ५ विगाहा जग्गा भएको सो ठाउँ प्रदेशको राजधानी हुने भन्दै नेताहरु समेत लागि परेका छन् ।

गत कार्तिक २९ गते सम्पन्न सुन्दरहरैंचा नगरपालिकाको नगरसभाले मोरङ निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने गोठगाउँको पूर्वाञ्चल विश्वविद्यालय रहेको स्थानमा १ नम्बर प्रदेशको राजधानी वनाउने कुरा समेत निर्णय गरेको थियो । नगरपालिकाले सम्बन्धित मन्त्रालयमा समेत सो ठाउँ राजधानी हुन उपयुक्त हुने आधारहरु पेश गर्दै एक प्रकारको माग गरेको थियो । नगर प्रमुख शिव ढकाल भन्छन् ‘शहरीकरणतर्फ उन्मुख हुँदै गएको र हरेक हिसावले प्रदेशको राजधानी यहीँ उपयुक्त हुन्छ भनेर नगरसभाले निर्णय गरेको र मन्त्रालयले पनि सोही कुरालाई मनन् गरेकोमा खुसी लागेको छ । अव कुनै पनि राजनीतिक दाउपेचमा अन्यत्र राजधानी तान्नेखाले असोभनिय कार्य नहोस् ।’

प्रसस्त जग्गा रहेको, सवैतिरका लागि सहज यातायात सुविधा, सुरक्षा, सुगमता र पर्यावरणीय हिसावले गोठगाउँ नै राजधानी उपयुक्त हुने मोरङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) का प्रदेशसभा सदस्य राजकुमार ओझाले जिकिर गरे । ‘यो ठाउँ हरेक हिसावले उपयुक्त ठाउँ भएकाले यहाँ स्थायी रुपकै राजधानी बनाउने कुरामा मेरो लविङ जारी छ ।’– उनले भने । वाम गठवन्धनका तर्फबाट नेकपा एमालेबाट आफ्नो उम्मेदवारीपछि ओझाले गोठगाउँलाई प्रदेशको राजधानी वनाउन आफ्नो पहल रहने कुरा राख्दै भोट मागेका थिए । उनले अस्तव्यस्त बनेको पूर्वाञ्चल विश्वविद्यालयलाई व्यवस्थित गर्दै एमवीवीएससम्मको पढाई सुरु गर्न समेत आफुले पहल गर्ने वचन दिएका थिए ।

तत्कालका लागि अस्थाई रुपमा मन्त्रालयले राजधानीका लागि उपयुक्त ठाउँ सिफारिस गरेको र यसलाई स्थाई रुपमा कायम गर्ने कुरामा भनें प्रदेशसभाको वैठकले निर्णय गर्ने कानूनी प्रावधान छ । विराटनगर, इटहरी, धरान र धनकुटा समेतको सम्भाव्यता अध्ययन् भएको र ती ठाउँका वासिन्दा र दलका अगुवाले आफ्नै क्षेत्रमा राजधानी बनाउने कसरतकाबीच सरकारको यसखाले सिफारिस आएको हो । ३ नम्बर क्षेत्रका साथै त्यसभन्दा पूर्वउत्तरका क्षेत्रका वाम गठवन्धन, नेपाली कांग्रेस सहित सवैजसो दलको राय गोठगाउँकै पक्षमा छ ।

विश्वविद्यालय भएको क्षेत्रमा प्रदेशको स्थाई राजधानी नै उचित हुने पूर्वाञ्चल विश्वविद्यालयको अनुदान आयोगका अध्यक्ष लोकप्रसाद संगौलाले बताएका छन् । प्रसस्त जग्गा समेत रहेकाले सो क्षेत्र उपयुक्त हुने संग्रौलाको तर्क छ । संरचना थप गर्न सके विश्वविद्यालयको समेत भविष्य बन्ने पूर्वाञ्चल विश्वविद्यालय गोठगाँउका डिन डाक्टर सिदार्थ कोइरालाले जनाए ।

विमानस्थल तथा अन्य कार्यालयीय व्यवस्थापनका लागि सहज हुने भएपनि विराटनगर भारतीय सीमा नजिक रहेकाले अनुपयुक्त हुने विज्ञको राय आइरहेको छ । कुनै पनि देशको संघीय राजधानी तथा केन्द्रीय राजधानी सीमा क्षेत्रभन्दा ३० किलोमिटर टाढा राखिने प्रावधानले विराटनगर अनुपयुक्त हुने राय आइरहेको छ ।

प्रदेशको मुख्य मन्त्रीका दावेदारका रुपमा रहेका भीम आचार्य, शेरधन राई तथा जीवन घिमिरे मुख्य प्रतिष्पर्धी देखिएपनि उनीहरुले भनें गोठगाउँको कुरा हालसम्म उठाएका छैनन् । आचार्यले भने इटहरीको कुरा गर्दै आइरहेका छन् भने राई मौन छन् । घिमिरेले विराटनगरको कुरा उठाइरहेका छन् ।

गोठगाउँको विश्वविद्यालय रहेको क्षेत्रमा ९ वटा भवन रहेका छन् । त्यहाँको ८ सय ६ विगाहा जग्गा मध्ये ८५ विगाहामा घेरावारा समेत गरिएको छ ।