सुनसरीमा रगत अभाव
धरान/रक्तदान कार्यक्रम कम हुन थालेपछि सुनसरीमा फेरि रगत अभाव भएको छ ।
रगत अभावका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने बिरामी तथा आफन्तहरु समस्यामा पर्न थालेका छन् । प्रतिष्ठान हातामा सञ्चालित नेपाल रेडक्रस सोसाइटी सुनसरीको रक्तसञ्चार केन्द्रका अनुसार ओ, एवी र बी पोजेटिभ रगत अभाव भएको छ । अन्य रक्त समूहका रगत पनि प्रयाप्त नभएको केन्द्रका कर्मचारी सानुबाबु थापाले जानकारी दिए ।
रगत अभाव हुँदा जटिल प्रकारका सल्यक्रिया तथा प्रशुति गराउँदा समस्या हुने गरेको छ । प्रतिष्ठानमा दैनिक ५० युनिट रगतको माग छ । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भएका कारण पनि यो बीचमा रक्तदान नभएको जिल्ला रेडक्रस सोसाइटीका सभापति उमेश थापाले बताए ।
त्यस्तै जाडोका कारण पनि रक्तदान कार्यक्रम कम भइरहेको उनले बताए । रक्तदान कार्यक्रम गर्नका लागि अहिले विभिन्न संघसंस्थाहरुलाई पत्राचार गरिएको छ ।