बिर्तामोड । झापामा जग्गा खरिद बिक्री गर्ने ब्यवसायीहरु संगठित भएका छन् । ब्यवसायीले प्रपर्टी डिलर्स एसोसिएसन अफ नेपाल नामको संस्था स्थापना गरेका छन् । संस्थाले औपचारिक रुपमा शनिवार बिर्तामोडमा जिल्ला समिति घोषणा कार्यक्रमको आयोजना गरी केन्द्रीय कार्यालय बिर्तामोडमा रहने गरी अध्यक्षमा रोचक बोहोरालाई चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा कन्काईका पुन्य ओझा, द्धितीय उपाध्यक्षमा मेचीनगरका गोविन्द गिरी, महासचिवमा अर्जुनधाराका केशव अधिकारी, सचिवमा बिर्तामोडका लालबहादुर समाल ‘राजु’, सहसचिवमा अर्जुनधाराका कमला भण्डारी र कोषाध्यक्षमा बुद्धशान्तिका मनिष दाहाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा दमकका खगेन्द्र गौतम, मेचीनगरका डम्बर नेपाल, बुद्धशान्तिका नारायण न्यौपाने, अर्जुनधाराका गंगाप्रसाद मैनाली, बिर्तामोडका लक्षमण खड्का सर्वसम्मत चयन भएका छन् । समितिले दमकबाट प्रथम उपाध्यक्षसहित कन्काई, दमक र भद्रपुरबाट २÷२ जना सदस्य मनोनयन गर्ने बताएको छ । संस्थाका तदर्थ समितिका अध्यक्ष राजकुमार मेवाहाङ राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्बर १ का प्रदेश सासद एकराज कार्की रहेका थिए । कार्यक्रममा झापाका प्रत्येक स्थानीय तहमा रहेर जग्गा खरिद बिक्री गर्दै आएका ब्यवसायीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका महासचिव सिदार्थ नविन उप्रेतीले स्वागत तथा संस्थाको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन देशरकिरण राईले गरेका थिए ।