विराटनगर/ साउनमा अविरल वर्षापछि आएको बाढीबाट पीडित बनेका विराटनगरवासीले फागुपूर्णिमापछि राहत पाउने भएका छन् ।

विराटनगर महानगरपालिकाकाले होलीपछि राहत वितरणको तयारी थालेको छ ।

लामो समयसम्म खुल्ला चौरमा दिन–रात बिताएका बाढीपीडितहरु हरेक दिन बिराटनगर महानगरपालिकामा राहतको आशासहित धाउने गरेकाछन्  ।

राहत रकम पाएपछि अवास बनाउने योजनामा रहेका पीडितहरुले लामो समयसम्म राहत नपाउँदा कष्टकर दैनिकी गुजारा गरेका छन् ।

सिँगिया खोला किनार की सुनिता ऋषिदेवले रकम पाएपछि घर बनाउने भनेर कुरेको एक बर्ष पुग्न लाग्दा समेत राहत नपाएको भन्दै गुनासो गरिन् ।

राहत रकमको ढिलाईले बाढीपीडित आक्रोशित भएका छन् ।

विराटनगरमा गत साउन २७ गते केशल्य र सिँगिया खोला गाउँ पस्दा खोला किनारका अधिकांश परिवार बिस्थापित भएका थिए ।

नेपाल सरकारले बाढी प्रभाबित क्षेत्रको लागि राहत रकम स्थानीय तहमा पठाएको महिनौ बितिसकेपनि वितरण भने हुन सकेको छैन ।

पीडितका लागि विराटनगर महानगरपालिकामा १३ करोड ८९ लाख बजेट आएको छ । तर त्यो बितरणमा ढिलाई भएको बाढीपीडितको आरोप छ । तर विराटनगर महानगरपालिकाले भने राहतको रकम होली पछि वितरण गर्ने तयारी थालेको छ । पूर्ण क्षती भएका ५ हजार चार सय ३७ घरमा राहत रकम बितरण गर्ने तयारी भएको बिराटनगर महानगरपलिकाले जनाएको छ ।

‘बाढीका कारण पूर्ण क्षति भएका घरको हकमा २७ हजारका दरले रकम दिईने छ, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने, त्यसको लागि महानगरले पुन एकिन गरी होलीपछि राहत बितरणको काम शुरु गर्नेछ ।’ १५ हजार घर बनाउन, १० हजार लत्ताकपडा खरिद र २ हजार कृषि बालीको बिउ बिजन खरिदका लागि उपलब्ध गराईने महानगरले जनाएको छ ।  २५ हजार महानगरले उपलब्ध गराउने भएपनि २ हजार भने कृषि विकास कार्यालयले उपलब्ध गराउने पराजुलीले जानकारी दिए ।

साभारः लाेकान्तर