ओखलढुंगा / यहाँको सामुदायिक अस्पताल मिसनमा अनौठो शिशुको जन्म भएको छ । मानेभन्ज्याङ गाउँपालिका–४, केत्तुकेका लक्ष्मण गुरुङ र विपना गुरुङको पहिलो सन्तान (छोरी)  अनौठो जन्मिएकी हुन् । शिशुको टाउकोको दायाँतर्फको आकार निकै ठूलो छ। एउटा आँखा, नाक र मुख नै प्रस्ट देखिन्न।

२ किलो ७ सय ग्रामको शिशुको अन्य शारीरिक अवस्था सामान्य छ। आमाको स्वास्थ्य समेत सामान्य रहेकाे चिकित्सकले जनाए। अहिले शिशुलाई इन्कुवेटरमा राखेर पाईपमार्फत आमाको दूध ख्वाएर राखिएको छ। बच्चाको अवस्था हेर्दा आमाको पेटभित्रै बच्चालाई ट्यूमर भएको अनुमान चिकित्सकले गरेका छन्। शिशुलाई केही दिनपछि काठमाडौं रिफर गरिने मिसन अस्पतालका चिकित्सक (एमडीजीपी) सञ्जय पोख्रेलले बताए।

चिकित्सकका अनुसार यसलाई जन्मजात शारीरिक अपांगता भनिन्छ। ढिलो उमेरमा आमाले बच्चा जन्माउनु, हाडनाताको सम्बन्ध, गर्भावस्थामा जथाभावी औषधिको प्रयोग र गर्भावस्थामा भिटामिन (फोलिक एसिड) को कमी हुनाले यस्तो शिशुको जन्म हुने गरेको डा.पोख्रेलले बताए।

शिशुकी आमा विपना २९ वर्षकी भइन्।