काठमाडौं/ वैदेशिक रोजगारमा ऐनमा मानव बेचबिखनलाई समेट्नु पर्नेमा सरोकारवालाले जोड छन् ।

महिला कानून र विकास मञ्चले सोमबार आयोजना गरको छलफलमा वैदेशिक रोजगार ऐन २०६४ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले वैदेशिक रोजगारीका सिलसिलामा हुने मानव बेचबिखनलाई समेट्न नसकेकाले मानव बेचबिखन बढेको बताउँदै वैदेशिक रोजगार ऐनमा मानव बेचबिखनलाई समेट्नु पर्ने सरोकारवालाको भनाइ थियो ।

ऐन अनुसार वैदेशिक रोजगारीमा जाँदा ठगी र बेचबिखनमा परेको व्यक्तिले ठगी मुद्दा मात्रै दर्ता गर्ने गरेका छन् । कार्यक्रममा सहभागीले वैदेशिक रोजगारीमा जाने महिला मानव बेचबिखनमा पर्ने गरेको भएपनि यस सम्बन्धी कडा कानून नभएका कारण त्यसमा संलग्नहुनेले कारबाहीको दायरामा आउन नसकेको बताएका थिए ।

वैदेशिक रोजगार गएका व्यक्ति बेचबिखनमा पर्छन् भन्नेतर्फ ऐनमा कतै उल्लेख नगरिएकाले मानव बेचबिखनमा संलग्नहुनेहरु उम्कने गरेको सहभागीको भनाइ थियो ।

कार्यक्रममा अधिवक्ता रोश्ना प्रधानले वैदेशिक रोजगार ऐनले ठगीलाई मात्र समेटेको र बेचबिखनलाई नसमेटेकाले यसको परिभाषा नै परिवर्तन गर्नुपर्ने बताउँदै ठगी र बेचबिखनमा परेमा दोहोरो मुद्दा चलाउने व्यवस्था ऐनमा संशोधन हुनुपर्ने धारणा व्यक्त गरे ।

मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले एउटै व्यक्ति बेचबिखन र ठगीमा परेमा दुई फरकफरक कसुरमा मुद्दा चलाउने व्यवस्था भएमा पीडितले न्याय पाउने बताए ।

कार्यकारी निर्देशक श्रेष्ठले पीडितलाई कानूनमा सहज गराउनका लागि सातवटै प्रदेशमा मानव बेचबिखनविरुद्धको ब्यूरो कार्यालय स्थापना गर्नुपर्नेसमेत जोड दिए । रासस