विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख डा. गोविन्द बहादुर तुम्बाहाङ र मुख्यमन्त्री शेरधन राईले छुटाछुटै कार्यक्रम आयोजना गरी फागु पूर्णिया होली पर्व मनाएका छन् । विराटनगरमा बिहीबार छुटाछुटै स्थानमा होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी होली मनाएका हुन् । प्रदेश प्रमुख तुम्बाहाङले विराटनगरको कोशीप्रोजेक्टमा अवस्थित निवासमा दिउँसो १२ बजे र मुख्यमन्त्री राईले ४ बजे मारवडी सेवा सदनमा होली मनाए । प्रदेश प्रमुखको कार्यालयले आयोजना गरेको होली कार्यक्रम निर्धारित समयमा सुरु भएको थियो भने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आयोजित कार्यक्रम निर्धारत समयभन्दा एक घण्टा ढिलो सुरु भयो । मुख्यमन्त्रीको कार्यालयले ३ बजे सुुरु गर्ने भनिएको कार्यक्रम ४ बजेमात्र सुरु भएको थियो । मुख्यमन्त्री राई समयमै उपस्थीति नहुँदा कार्यक्रम ढिलो सुरु भएको हो । होलीको शुभकामना दिदै प्रदेश १ का प्रमुख प्रा. डा. गोविन्द तुम्बाहाङले होलीको शुभकामना व्यक्त गरे । उनले संविधानले नै सबै धर्म र संस्कृतिलाई उच्चसम्मान प्रदान गरेको बताए । त्यस्तै मुख्यमन्त्री शेरधन राईले होली पर्वले मेलमिलाप, भाइचारा कायम गर्ने बताए । होलीको शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश १ सभामुख, उपसभामुख, मन्त्री, प्रमुख जिल्ला अधिकारी, उद्योगी व्यवसायी, नागरिक समाज, सुरक्षा निकायका पदाधिकारी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहयो ।