काठमाडाै । वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको दाबी अन्नपूर्ण पोस्ट दैनिकले गरेको छ ।
एमाले वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता अमिक शेरचनले राष्ट्रपतिका लागि इच्छा देखाए पनि बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई नै दोहोर्याउने निश्चितप्रायः रहेको एमालेका एक वरिष्ठ नेताले जानकारी दिए ।
२३ गते राष्ट्रपतिको मनोनयन भएकाले २२ गते स्थायी समितिको बैठक बस्ने एमालेका ती नेताले दाबी गरेको समाचारमा उल्लेख छ ।
वरिष्ठ नेता खनाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने पक्षमा पार्टी अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाललगायत नेता नरहेको दाबी स्रोतको छ ।
प्रतिनिधिसभामा इलामबाट विजयी खनालले राष्ट्रपतिमा सुरुदेखि नै इच्छा देखाउँदै आएका छन् । विगतमा पनि खनालले राष्ट्रपति पदका लागि इच्छा राखे पनि एमालेले भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । राष्ट्रपति पदको उम्मेदवारको प्रस्तावक वा समर्थकमध्ये एक वरिष्ठ नेता खनाल हुने पनि ती नेताले दाबी गरेका छन् ।
माओवादी केन्द्रका नेता शेरचनले पनि राष्ट्रपतिमा दाबी गरे पनि एमाले अध्यक्ष ओलीले भण्डारीलाई नै दोहोर्याउने संकेत दिएपछि शेरचनले उपराष्ट्रपतिमा इच्छा व्यक्त गरेका छन् ।
कांग्रेसको राष्ट्रपति उम्मेदवार को ? राष्ट्रपतिको निर्वाचनका लागि बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भए पनि कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने विषयमा नेपाली कांग्रेसले छलफल नै सुरु गरेको छैन ।
जनता पोस्टका अनुसार २१ फागुनमा पार्टी संसदीय दलको चुनाव हुने भएकाले पार्टी सभापति शेरबहादुर देउवालगायत सबै नेता यसमै केन्द्रित भएका छन् । कांग्रेस नेता बालकृष्ण खाँडले संसदीय दलको नेता छनोटपछि यसबारेमा टुंगो लगाइने बताएको जनता पोस्ट दैनिकमा समाचार छ ।