काठमाडौं । बलिउड अभिनेता सलमान खानको नेपाल आउने कार्यक्रम स्थगित भएको छ ।

आयोजक ओडिसी इन्टरटेनमेन्टले सलमान खानको कार्यक्रम केही समयका लागि स्थगित गरिएको जनाएको छ ।

सलमान खान आउनु, नआउनु एउटा समाचार त होला । तर यसबारे पार्टीको धारणा पत्रकारले माग्नु चाहिँ अचम्मलाग्दो कुरा हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई एकजना पत्रकारले यस्तै अचम्ममा पारिदिएछन् । प्रवक्ता शर्माले शुक्रबार ट्वीट गर्दै आफूलाई एक पत्रकारले सलमान खान नेपाल नआउनेबारे कांग्रेसको धारणा मागेको उल्लेख गर्नुभएको छ । हरेक कुरामा कांग्रेसको धारणा आवश्यक नभएको भन्दै उहाँले नो कमेन्टमै छ कांग्रेसको कमेन्ट भनेर उल्लेख गर्नुभएको छ ।

‘दबंग टुर’ नाम दिइएको कार्यक्रम मार्च १० मा काठमाडौंको टुँडीखेलमा हुने तय भएको थियो । तर नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले केही दिनदेखि सलमान खानको कार्यक्रम नेपालमा हुन नदिने चेतावनी दिँदै आएको थियो ।

बलिउडका सुपरस्टार सलमान खानसँगै अभिनेत्री सोनाक्षी सिन्हा, प्रभु देवा, डेजी शाह, कृति सेनन, मनिष पललगायतका कलाकारको सहभागिता हुँदै थियो । तर विप्लव समूहले भारतीय संस्कृतिको प्रवद्र्धन गर्ने खालका कार्यक्रम नेपालमा गर्न नदिने बताउँदै आएको छ ।

आयोजक ओडीसी इन्टरटेन्मेन्टले केही समयका लागि मात्रै सलमान खानको कार्यक्रम स्थगित गरिएको र अप्रिल या मार्चमा सलमानको कार्यक्रम आयोजना गरिने जनाएको छ । यसअघि टिकट लिइसकेका दर्शकले त्यही टिकटमा आगामी कार्यक्रम हेर्न पाउने ओडीसीले जनाएको छ ।