काठमाडौं/पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामदेवलाई आफ्नो पक्षमा पार्नका लागि आफू राष्ट्रपति भएपछि खाली हुने इलाम- १ बाट सांसद जिताउने जिम्मा समेत लिन तयार रहेको बताएका छन् ।
तर, बर्दियामा अन्तरघातका कारण हारेका वामदेवलाई इलाम लैजाने कुरा नै अर्को आत्मघाती कदम हुने उनका निकटस्थ नेताहरुले बताइसकेका छन् ।
एमालेका केही नेताले ठूला नेताहरुको व्यवस्थापनका लागि राष्ट्रपति नदोहोर्याउनु उपयुक्त भए पनि देशको कार्यकारी प्रमुख भइसकेको व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने तर्कसमेत गरेका छन् ।
एमालेबाट विद्या भण्डारी नै उम्मेदवार बन्ने ९० प्रतिशत सम्भावना रहेको भन्दै ती नेताले कथम् कदाचित विद्या नहुने अवस्थामा ओलीको रोजाई सुवास नेम्वाङ रहेको दाबी गरे । उनले भने- राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दवहादुर पुननै दोहोरिने सहमति ओली र प्रचण्डको तहमा भइसकेको छ । अब अरु नेताले जति चलखेल गरे पनि २२ गते एमाले स्थायी कमिटीले औपचारिकरुपमा विद्यालाई नै उम्मेवार बनाउने निर्णय गर्नेछ, केही नेताले विरोध गरे पनि निर्णय हुन्छ ।
एमाले पार्टीभित्र अहिले पनि विद्या भण्डारीको होल्ड रहेका कारण उनलेे चाहँदा रोक्ने अवस्था नरहेको ओली निकट नेताहरुले बताइरहेका छन् । मन्त्री, मुख्ययमन्त्री र राष्ट्रियसभा सदस्यमा समेत हिस्सा खोजिरहेकी भण्डारीले राष्ट्रपतिमा दोहोरिन खोज्दा रोक्ने अवस्थामा ओली पनि छैनन् ।