काठमाडौं/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्कीको ढिकुरपोखरीस्थित जन्मस्थानमा घर बनाउने योजना सुनाएका छन् ।
अन्नपुर्ण काठमाडौं समाज नेपालको साधारणसभामा सहभागी प्रचण्डले व्यवसायीहरुले आफूलाई जन्मस्थानमा घर बनाउन आग्रह गर्दै आएको सुनाए ।
‘साथीहरुले आफू जन्मिएको ठाउँमा एउटा झुप्रो बनाए हुन्थ्यो भनेर भनिराख्नु भएको थियो’ उनले भने, ‘म सोच्दैछु, त्यहाँ गएर बस्न एउटा सानो घर बनाइयो भने त्यहाँको विकास निर्माणमा सहकार्य गर्न सजिलो हुन्छ ।’
ढिकुरपोखरी अहिले अन्नपूर्ण गाउँपालिकामा पर्छ । पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डको परिवार भने ढिकुरपोखरीबाट चितवन सरेका थिए ।
अन्नपूर्ण गाउँपालिकाको विकास र सम्वृद्धि सिंगो राष्ट्रका लागि अनुकरणीय बन्नुपर्ने उनले बताए । प्रचण्डले संरक्षकत्वको भूमिकाका लागि अन्नपूर्ण समाजले गरेको आग्रह स्वीकार गरेका छन् ।

































