काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेकै दिन एमालेका लोकप्रिय नेता लालबाबु पण्डित जनसंख्या तथा वातावरण मन्त्री नियुक्त भए । कार्यभार सम्हालेलगत्तै उनले उपत्यकामा मुख छोपेर हिँड्ने दिनको अन्त्य गर्ने घोषणा गरे । लगत्तै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरेको भन्दै विभिन्न उद्योग र कम्पनीलाई जरिवाना पनि तिराए ।
उनले पदभार ग्रहणलगत्तै सकारात्मक चर्चा बटुलेका मन्त्री पण्डित सोमबार पनि मन्त्रालयकै काममा व्यस्त थिए । तर उनी व्यस्त रहेको मन्त्रालय भने अहिले अस्तित्वमा नै छैन ।
सरकारले मन्त्रालयको संख्या ३१ बाट घटाएर १७ मा झारेपछि उनले सम्हालिरहेको मन्त्रालयको अस्तित्व नै सकिएको छ । वातावरण वन मन्त्रालयमा र जनसंख्या स्वास्थ्य मन्त्रालयमा गाभिएर उनको कार्यकक्ष छेउकै भवनमा नयाँ बोर्ड आइसकेको छ । तर पण्डित भने सरकाले आफ्ना लागि मन्त्रालय नतोकेपछि अस्तित्वमै नरहेको मन्त्रालयको बोर्ड भएको भवनमा पुरानै मन्त्रालयको नेमप्लेट राखेर काम गरिरहेका छन् ।
अहिलेसम्म मन्त्री पण्डितको कार्यविभाजनअनुसारको मन्त्रालय तोकिएको छैन । पण्डितले सम्हालिरहेको जनसंख्या तथा वातावरण मन्त्रालयको भवनमा पुरानै मन्त्रालयको नाम छ । तर उनको मन्त्रालय दुईतिर परिसकेको छ । मन्त्रालय नभए पनि उनी सोमबार लामो समय कार्यकक्षमै बसेर काम गरिरहेका छन् ।