शनिश्चरे/मोरङको पथरी शनिश्चरेस्थित हसन्दह र रतुवामाईस्थित अमरदहमा जंगली हात्तीले घर तथा अन्नवालीमा क्षति पुर्याइ आतंक सिर्जना गरिरहेको छ ।
हात्ती गाउँ पसेर क्षति पुर्याएको खबर आएपछि पथरी शनिश्चरे नगरपालिका प्रमुख दीलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, इलाका प्रहरी पथरी प्रमुख विजय श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष जोगबहादुर धिमाल र ६ का अध्यक्ष जयवहादुर तामाङ सहितको टोलीले सोमवार स्थलगत अनुगमन् गरेको छ । सो क्षेत्रमा यसअघि खासै हात्ती प्रवेश नगरेको अवस्थामा गाउँमा आतंक नै सिर्जना भएको छ । यसअघि नगरको वडा नम्बर १ र १० मा भनें पटक पटक हात्ती आउने गरेको थियो ।
आइतबारदेखि पथरीशनिश्चरे ५ को हसन्दहमा पूर्वको वक्राहा खोलाबाट गाउँपसेका ४ वटा ठूला र २ वटा वच्चा गरी ६ वटा हात्तीको समूहले गएराती १ दर्जन घरमा क्षति पुर्याएको छ ।
हात्तीले ५ नम्वर वडाको त्रिवेणी चोकका गोपाल तिम्सिनाको १० औं मन धान खाएर क्षति पुर्याएको छ । हात्तीले गहुँवालीमा समेत क्षति पुर्याएको छ । त्यहीँका देवी सतारको भान्सा घर भत्काई केही अन्नमा क्षति पुर्याएको छ ।
गुराँस टोलका मोतीराम शर्माको घरको टाटी भत्काएको छ । पुल्चोककी गीता निरौलाको घरको भित्तो र भान्साको छानो मर्काएको छ ।
वडा नम्वर ६ का हरि राईको घरको बेरा भत्काएर १० मन मकै र ६ मन धान खाएको तथा छिमेकी महेश्वरलाल देवको पनि भान्साको छानो छेडेर पीठो, धान सहितका अन्न खाएको वडा सदस्य जीवन राईले वताए ।
हात्तीले दिउँसैदेखि खोलामा आएर वसेका र राती गाउँमा पसेर आतंक सिर्जना गरेका कारण गाउँलेहरु रातभरी जाग्राम बसेका थिए । हात्तीले अमरदहतर्फ पनि केही क्षति पुर्याएको स्थानीयले वताएका छन् ।
हात्तीको समूह सोमवार विहान त्यहाँबाट पश्चिम कानेपोखरी गाउँपालिकाको सीमातर्फको डाँसखोला तिर लागेको छ ।