विराटनगर/ सुनसरीमा बुधबार भएको बेग्लाबेग्लै दुर्घटनाबाट दुई जनाको ज्यान गएको छ।

बुधबारी राती दुहवी नगरपालिका ८ कोशी राजमार्गमा को ३१ प ९९७८ र को २५ प १०३० नम्बरको मोटरसाइकल एक अर्कासंग ठोक्किंदा ९९७८ नम्बरको मोटरसाइकल पछाडी सवार विराटनगर-४ बस्ने विक्रम विश्‍वासको मृत्यु भएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका विश्ववासको उपचारका क्रममा कोशी अंचल अस्पतालमा राती ९ बजे मृत्यु भएको हो।

सोही दुर्घटनामा पारी घाइते हुनेमा बनिगामा-७ बस्ने समिर चौधरी र पथरी नगरपालिका-२ बस्ने सुवास राई रहेका छन्। घाइतेहरु सामान्य रहेका छन।

उनीहरुलाई दुहवी स्थित जिवन ज्योती अस्पतालमा उपचार गराइएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।

यता कोशी गाउँपालिका ४ जुद्दगञ्जमा अपरान्ह ४ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको युजे-१०-पिबि-१८५६ नम्बरको लहरीले साइकललाई ठक्कर दिंदा कोशी गाउँपालिका ४ बस्ने १९ वर्षीय ईन्दल खड्गको घटनास्थलमै मृत्यु भएको छ।

साइकल पछाडी सवार १३ वर्षीय प्रेमलाक मेहेता गम्भीर रहेकाले उपचारका लागि विराट नर्सिङ होम ल्याइएको छ। लहरीसहित त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।