इटहरी/ बराहक्षेत्र नगरपालिका-११ स्थित इक्राई बस्तीकी आगलागीपीडित ४५ वर्षीया आशादेवी चौधरी आइतबार राहतको लाइनमा रोइरहेकी थिइन्। अरूले सोधेका प्रश्नको जवाफसम्म दिन उनलाई गाह्रो परिरहेको थियो। शनिबार राति आगलागी हुँदा उनको घरसँगै पाँच लाख नगद र तीन तोला सुन पनि जलेको थियो। ‘शरीरमा लगाएका लुगाबाहेक केही सामान निकाल्न पाइनँ’, उनी भन्दै थिइन्।
दुबई गएका उनका पतिले ऋण तिर्न र घर बनाउन पठाइदिएको पैसा जलेपछि उनी बेहोस नै भइन्। पछि सम्हालिए पनि उनी सम्झी-सम्झी रोइरहेकी थिइन्। एक छिमेकी भन्दै थिइन्, ‘गाउँभरिमा सबैभन्दा धेरै क्षति उसकै भयो।’
४६ परिवारको घर खरानी बनाएको आगलागी राति ८ बजे चौधरीकै घरबाट सुरु भएको थियो। उनको गोठबाट सुरु भएको आगलागीले फुसको छाना भएका घर जल्न थालेका थिए। ऐलानी जग्गामा बसेको बस्तीका घर हेर्दाहेर्दै खरानी भए।
साभारः अन्नपूर्णपाेष्ट