शनिश्चरे/मोरङको पथरीशनिश्चरे नगरपालिकाले आफ्नो नगरका ८० वर्ष उमेर पुगेकाहरुका लागि घरमै गएर स्वास्थ्य परीक्षणको कार्यक्रम पारित गरेको छ ।
नगर कार्यपालिकाको पछिल्लो बैठकले पारित सो कार्यक्रमका बारेमा सोमवार स्वास्थ्य शाखाले नगरस्तरीय स्वास्थ्य संस्थाहरुको वैठक बोलाएर ‘ज्येष्ठ नागरिकको स्वास्थ्यसँग नगरपालिका’ कार्यक्रम नामाकरण गरेको छ । त्यस सम्बन्धी कार्यविधि निर्माणका बारेमा छलफल अघि बढेको नगरप्रमुख दीलिपकुमार राईले जनाए । ‘सवैका पूज्य ज्येष्ठ नागरिकहरुको नैसर्गिक अधिकार प्रत्याभूति गराउने एउटा सानो प्रयासका रुपमा कार्यक्रम अघि सारेका छौं ।’– उनले भने ।
पथरी, शनिश्चरे, हसन्दह स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रका प्राविधिकहरु समेतको राय सल्लाहमा चैतभरीमा कार्यविधि तय गरी वैशाखबाट सेवा सुरु गर्ने निर्णय भएको छ ।
स्वास्थ्य संयोजक मुरारी आचार्यले विपन्न तथा असहाय ज्येष्ठमा केन्द्रीत रहने सो कार्यक्रमका लागि आवश्यक पर्ने प्राविधिक सामग्री तथा जनशक्तिका बारेमा नगर प्रमुख दीलिपकुमार राई र प्रमुख प्रशासकीय अधिकृत सहितलाई जानकारी गराएका छन् । कार्यपालिका वैठकले सो कार्यक्रमका लागि तत्काल २ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेपछि त्यसको कार्यविधि, ८० वर्षमाथिका ज्येष्ठ नागरिकको संख्या निकाल्ने सहितका विषयमा छलफल भएको हो । स्वास्थ्य परीक्षणका लागि आवश्यक पर्ने वीपी सेट, पल्स अक्सिमिटर, ग्लुकोमिटर, अटोक्सकोप, निवुलाइजर खरिद गर्ने निर्णय भएको स्वास्थ्य संयोजक आचार्यले वताए । घरमा पुगेर मधुमेह सहितका स्वास्थ्य परीक्षणका साथै प्राथमिक उपचार गरिने जनाए । ‘जटिल रोगहरु फेला परेमा सरकारले निशुल्क रुपमा उपचार गर्न तोकेका स्वास्थ्य संस्थामा रेफर गरिन्छ ।’– उनले भने ‘ उहाँहरुका लागि स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गरेर सम्मान, सद्भाव सहित नगरपालिकाले अभिभावकको भूमिका निर्वाह गर्ने कार्यक्रम समेत हो ।’
७० वर्ष उमेर पुगेका ज्येष्ठको उपचारका लागि वर्षमा १ पटक १ नम्वर प्रदेशभरीका अस्पतालमा जान र आउनका लागि निशुल्क एम्बुलेन्स उपलब्ध गराउने समेत नगरपालिकाको थप स्वास्थ्य कार्यक्रम रहेको छ । नगरप्रमुख राईको अवधारणामा घरमै स्वास्थ्य परीक्षण र एम्बुलेन्सको कार्यक्रमको योजना बनेको हो ।