मोरङ/ झापाको शिवसताक्षी १० माइधारमा एक विदुषी खाल्डोमा पुरिएर ९ दिने भूतपस्या थालेकी छन् ।
दिव्यपथ महिला सरोकार समाजकी अध्यक्ष विदुषी बृन्दादेवी बरालले आदिशक्ति वैष्णवीदेवी धनधान्याञ्चल महायक्षको अवसर पारेर निराहार कठोर नौ दिने भू–तपस्या सुरु गरेको आयोजक समितिका उपाध्यक्ष मोहन सुवेदीले बताए । ६ सय रुपैयाँ तिरेर महायज्ञका सदस्य भएकालाई भू–तपस्याबाट जागृत भएको रुद्राक्ष माला र माटो प्रदान गरिने धार्मिक शैली उनले व्यक्त गरे ।
आइतवार साँझ साढे पाँच बजे जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले आशीर्वचन दिएपछि वराल भू–तपस्याका लागि पूर्वीद्वारबाट ९ फिट गहिरो खाल्डोमा पसेकी थिइन् । माइधारमा कन्या गुरुकूल र निराश्रित महिला तथा अनाथ बालआश्रम स्थापना गर्ने लक्ष्यका साथ आफू भू–तपस्यामा सामेल भएको विदुषी बरालले खाल्डोमा पस्नु अघि बताएकी थिइन् ।
उनी पसेपछि खाल्डोलाई माथिबाट बाँस लगाएर प्लाष्टिकले छोपि त्यसमाथि प्लाइउड ओछ्याइएको छ । प्लाइउडमाथि कालो प्लाष्टिक ओछ्याएर माटोले पुरिएको छ । जहाँ अक्सिजन पुग्ने अवस्था देखिदैन । पुरिएको माटोमा जमरा उमार्न विजन छरिएको छ । सो जमरा महायज्ञका क्रममा प्रयोग हुने जनाइएको छ ।
भू–तपस्याका लागि जमिनमुनि जानुअघि सयौँ भक्तजनले वरालप्रति सम्मान प्रकट गरेका थिए । कैयौँ महिलाका आँखामा आँसु देखिन्थ्यो । उनीहरुले विदुषी बराललाई पुष्पगुच्छा चढाएर तपस्या सफलताको कामना गरे । वरालले तपस्या थालेपछि महायज्ञ प्रारम्भ भयो । त्यस अवस्थामा धर्मानुरागीले सकेको दान घोषणा गरेका थिए । बरालको भ–ूतपस्या चैत १२ गते पूरा हुनेछ । तपस्या पूरा भएपछि उनी जमिनको दक्षिणतर्फबाट बाहिर निस्कने छिन् । महायज्ञ समापनका अवसरमा उनी आफैँले होम होमादी गर्ने छिन् ।
विदुषी बराल यसअघि दुई पटक भू–तपस्यामा वसेकी थिइन् । पहिलो पटक २०६३ पुसमा ललितपुरको गोदावरी र २०६६ चैतमा ताप्लेजुङमा उनले सफलतापूर्वक भू–तपस्या पूरा गरेको उल्लेख छ ।