पाँचथर/ जिल्लामा पछिल्ला तीन दिनमा चार वटा सवारी दुर्घटना भएका छन् । जसमा तीन जनाले ज्यान गुमाएका छन् । चार जना गम्भिर घाइते भएका छन् ।

आइतबार हिलिहाङ गाउँपालिका–७, भारपामा मिनि ट्रक सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ । बा २ क ६६८३ नम्बरको मिनी ट्रक त्यहाँको तीनधारे भन्ने स्थानमा सडकबाट पाँच सय मिटर तल खस्दा सहचालक महोत्तरीका ४० बर्षिय उमेश सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिजुलीको पोल बोक्ने ट्रकका चालक महोत्तरीकै सम्भू महरा गम्भिर घाइते बनेका छन् । उनको जिल्ला अस्पताल पाँचथरमा प्राथमिक उपचारपछि झापाको बि एण्ड सि अस्पताल रेफर गरिएको अस्पतालले जनाएको छ ।

शुक्रबार फिदिम–फालोट सडक खण्डको फिदिम–१, साब्राङ्मा मे १ त २५२३ नम्बरको ट्याक्टर सडकमा पल्टिँदा चालकको घटनास्थलमै ज्यान गयो । उनी इलाम नगरपालिका–१०, गोदकका २१ बर्षिय खगेन्द्र रहेको प्रहरीले जनाएको छ । शुक्रबारै सदरमुकाम फिदिमबाट हिलिहाङ गाउँपालिका–५, सुभाङ जाँदै गरेको मे १ ज १८०९ नम्बरको पिकअपले किच्दा सोही स्थानका ४२ बर्षिय मोहनलाल रणपहेलीको मृत्यु भयो । उनका श्रीमती ३२ बर्षिया इन्द्रकला गम्भिर घाइते भइन । हाल उनको बिर्तामोडमा उपचार भइरहेको छ । मादक पदार्थ सेवन गरेर सडकमै सुतेका दम्पतिलाई चालकले नदेख्दा उक्त घटना भएको अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै आइतबार कुम्मायक गाउँपालिका–३, मा ना ५ त ३१३३ नम्बरको ट्याक्टरमा चढ्ने क्रममा दुई जना घाइते भएका छन् । सोही स्थान बस्ने उदय चेम्जोङका छोरी वर्ष १५ की सुप्रिया र छोरा बर्ष ६ का रुपन घाइते भएका हुन् । घाइतेमध्ये सुप्रियालाई जिल्ला बाहिर रेफर गरिएको छ भने रुपनको सामान्य उपचार पछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

कच्चि सडकमा ओभर स्पिरिडका कारण दुर्घटना हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरिक्षक बिज्ञान बस्नेतले बताए ।