शनिश्चरे/मोरङको पथरीशनिश्चरेमा कला र साहित्यका क्षेत्रमा क्रियाशिल वन्दै गएको एभरेष्ट आर्ट फ्यूजनले माटोका सजावटका सामग्री निर्माण सम्बन्धी निशुल्क तालिम सोमवारबाट सुरु गरेको छ ।
नगरपालिकाको आर्थिक व्यवस्थापनमा चैत २६ गतेसम्म हुने ह्विल थ्रोइङ सेरामिक तालिममा काठमाडौंबाट आउनु भएका कलाकर्मी जगत प्रजापतिले माटोका सामग्री वनाएर कार्यक्रमको उद्घाटन् गरेका छन् । नगरको वडा नम्वर १ र २ को महिला लक्षित कार्यक्रम अन्तर्गत ३० जनाको सहभागिता रहने तालिममा काठमाडौंका अर्का कलाकर्मी विक्रम प्रजापतिले समेत सहजिकरण गर्ने संस्थाका अध्यक्ष टीकाराम राईले जनाए ।
जिल्लाको विराटनगर घर भई लामो सयमदेखि चित्रकारितामा संलग्न पुराना प्रसिद्ध चित्रकार गोपाल कलाप्रेमीलाई तालिम समापनको दिन पुरस्कृत गरिने भएको छ । फ्यूजनकी संस्थापक अध्यक्ष चित्रकार सरोजा खड्गीका पिता माता विष्णुप्रसाद खड्गी र मीनादेवी खड्गीको सम्मानमा ‘विष्णुमीना ललितकला पुरस्कार’ प्रदान गरिने भएको हो । पुरस्कारको राशी १० हजार नगद र ताम्रपत्र रहेको छ ।
यो वर्ष पहिलो पटक प्रदान हुने सो पुरस्कार प्रत्येक वर्ष प्रदान गरिने छ ।