इटहरी । इटहरीस्थित सेनाको पूर्वीपृतनामा करेन्ट लगाएर माछा मार्ने क्रममा दुई सैनिकको मृत्यु भएको छ। पृतनाको पोखरीमा सोमबार राति करेन्ट लगाएर माछा मार्ने क्रममा सबुज गणका अमल्दार भरत विक र पिउठ दोलख चन्दको मृत्यु भएको हो।

पृतनाको स्विमिङ पुलबाट उत्तरमा रहेको पोखरीमा माछा पाल्ने गरिएको छ। पालेका माछा सेनाका माथिल्लो ओहोदाका व्यक्तिले मात्र खाने गर्दै आएका छन्। विक र चन्द करेन्ट लगाइएको पोखरीमा बिजुली अफ नगरी सोमबार बेलुका माछा टिप्न थालेपछि करेन्ट लागेर उनीहरूको घटनास्थलमै निधन भएको बुझिएको छ। पोखरीमा ढल्नासाथ पृतना हाताभित्र क्यान्टिन सञ्चालन गर्दै आएका लमजुङ घर भएका ढकेन्द्र श्रेष्ठले देखेपछि तत्काल उनीहरूलाई उपचारका लागि पृतनाभित्रकै फिल्ड अस्पतालमा भर्ना गरिएको थियो।

अचेत अवस्थामा रहेका दुवैको मुटुको धड्कन नचलेपछि थप उपचारका लागि बीपी प्रतिष्ठान भर्ना गरिएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए। मृतक दुवैको शरीरमा कुनै प्रकारको चोट भने देखिँदैन।

माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको मृत्यु भए पनि सेनाले घटनाबारे सत्यतथ्य सार्वजनिक गरेको छैन। चौबिसै घण्टा कडा सुरक्षा घेरामा रहेको पृतनामा दुई सैनिकले पोखरीमा करेन्ट लगाउँदासमेत ड्युटीमा खटिएका सैनिकले चाल नपाउनुले घटना थप शंकास्पद बनेको छ।

पृतनाको चारैतिर २४ घण्टा सुरक्षाका लागि सैनिक परिचालन गरिएको भए पनि पोखरीमा करेन्ट लागेर आफ्ना सैनिकको मृत्यु हुनु पृतनाको सुरक्षामा गम्भीर लापरबाही भएको भन्दै सैनिक हेडक्वार्टरको समेत ध्यानाकर्षण भएको छ। घटनापछि पृतनाको सुरक्षा व्यवस्था कडा पारिएको छ। घटनास्थलमा प्रहरीबाहेक अन्यलाई प्रवेश गर्न दिइएको छैन।

शव शल्यपरीक्षणका लागि बीपी प्रतिष्ठानमा राखिएको छ। मृतकका आफन्त नआएका कारण उनीहरूको शल्यपरीक्षण नगरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी रामेश्वर पौडेलले जानकारी दिए। उनले जाहेरी नदिएका कारण शल्यपरीक्षणमा ढिलाइ भएको बताए।

घटनास्थलको प्रत्यक्ष निरीक्षण गरेका इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सञ्जय राउतले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। उनले घटनास्थलको प्रहरी मुचुल्का तयार गरी थप अनुसन्धान अगाडि बढाइएको बताए।

पूर्वी पृतनामा दुई सैनिकको मृत्यु भएपछि सैनिक मुख्यालयले छानबिन समिति गठन गरेको प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिएका छन्। उनले पृतनाभित्र दुई सैनिकको मृत्यु हुनु अत्यन्तै दुःखद भएको बताउँदै घटना के कारणले घट्न पुगेको भन्ने विषयमा यकिन भइनसकेको बताए।

प्रवक्ता भण्डारीले सोमबार बेलुका ९ बजे दुई सैनिकलाई पोखरीमा अचेत अवस्थामा फेला पारिएको र अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु घोषणा गरेको जानकारी दिएका छन्। उनले घटनाबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्। पृतनामा गत वर्ष एक सैनिकले आफैंले बोकेको बन्दुकले गोली हानी आत्महत्या गरेका थिए।

पृतनापतिद्वारा छानबिन सुरु

पूर्वीपृतनामा सोमबार राति दुई सैनिकको मृत्यु भएपछि पूर्वीपृतनापति समीर शाहीले छानबिन सुरु गरेका छन्। उनले मंगलबार सबुज गणका गणपति लक्ष्मीभक्त श्रेष्ठ, क्यान्टिन सञ्चालक श्रेष्ठ, सबुज गणमा कार्यरत ड्युटी अफिसर, घटना घटेको समयमा पोखरी आसपासमा बेसेका सेन्ट्रीसँग घटनाबारे जानकारी लिएको सैनिक स्रोतले बताएको छ। पृतनापति शाहीलाई घटनाको विस्तृत अध्ययन गरी प्रतिवेदन हेडक्वार्टरमा बुझाउन प्रधानसेनापति राजेन्द्र क्षत्रीले निर्देशन दिएका छन्।

-अन्नपूर्ण पाेष्टबाट