पानवारी/ धराने जनतालाई सिप सिकाउने उदेश्यले धरानको वडा नं. ७ वडाले निःशुल्क ड्राइभिङ प्रशिक्षण सुरु गरेको छ ।

शनिबार धरान उपमहानगरापालिकाका मेयर तारा सुब्वाले ड्राइभिङ स्कुलको प्राङ्गणमा सो कार्यक्रमको उद्घाटन गरे । युवा लक्षित कार्यक्रम अन्तर्गत वडाले पाथिभरा ड्राइभिङ स्कुललाई एक लाख बजेट उपलब्ध गराएपछि निःशुल्क ड्राइभिङ प्रशिक्षण सुरु भएको हो ।

ड्राइभिङ स्कुल र वडा कार्यालयबीच भएको सम्झौता समेत शनिवार नै हस्तान्तरण गरिएको छ । वडाको तर्फबाट ७ जना र स्कुलको सामाजिक उत्तरदायित्व अन्तर्गत २ जना गरि ९ जनालाई १ महिने निशुल्क साना सवारी चालक प्रशिक्षण शुरु गरिएको स्कुलको निर्देशक रुपक श्रेष्ठले जानकारी दिए ।

विगत १६ बर्षदेखि सवारी हाक्न प्रशिक्षण दिदै आएको उक्त ड्राइभिङ स्कुलबाट हालसम्म १५ हजारले प्रशिक्षण लिईसकेकोको समेत कार्यक्रममा श्रेष्ठले जानकारी गराएका थिए । यातायात व्यवस्था विभागबाट सवारी अनुमति पत्र लिनका लागि सरकारले ड्राईभिङ स्कुलमा तालिम लिएको प्रमाण पत्रसमेत अनिर्वाय गरेको छ । स्कुलले मोटर साईकल, साना तथा ठूला सवारीलगायतको प्रशिक्षण प्रदान गर्दै आएको छ ।

नगरपालिकाको बजेटबाट अनुष भण्डारी, रुविणा सुवेदी, अनु राई, विक्रम राई, विवेक अधिकारी, रुवना श्रेष्ठ, भवेस भुजेल, निरा धामी श्रेष्ठ र भरत श्रेष्ठ रहेका छन् । ९ जना मध्य २ जनालाई स्कुलले लगानी गरेको छ । वडाका बेरोजगार युवाहरुलाई सीपमुलक तालिमबाट स्वरोजगार बनाउन तालिमको व्यवस्था गरिएको ७ नं. वडाका निमित अध्यक्ष जीवनाथ सुवेदीले जानकारी दिए ।