भद्रपुर/सवारी साधनको प्रयोग गरी भारतवाट भन्सार छलेर नेपाल ल्याउदै गरेको भारतीय ४९ बोरा धान चामलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको दक्षिणी क्षेत्र बनियानी हुदै भद्रपुर तर्फ ल्याउदै गरेको अवस्थामा प्रहरीले फेला पारी सामान नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

भद्रपुर नगरपालिका ४ स्थित झापा चौकनजिकै पार्किङ गरेर राखिएको मे १ च २७५२ नम्बरको पिक अप भेनवाट ४० बोरा भारतीय सोना चामल र ९ बोरा धान फेला पारेको वडाका इन्सपेक्टर प्रकाश जवेगूले बताए । मुनी जुटको बोरामा चामल र माथीवाट जुटकै बोरामा धानले छोपेर राखिएको अवस्थामा सामान बरामद गरिएको इन्स्पेक्टर जवेगूले जनाए । प्रहरी गस्ती टोलीले सोमबार दिउँसो गाडीसहित सामान फेला पारी कचनकवल गाउँपालिका ४ का २३ वर्षिय चालक वृज बहादुर राजवंशीलाई समेत नियन्त्रणमा लिएको जनाएको छ । घटना पछि प्रहरीले अनुमानित चामलको १ लाख,धानको १२ हजार र सवारी साधनको ५ लाख मूल्य कायम गरेको जनाएको छ । त्यसैगरि चामल , सुर्ती तथा पेट्रालियम पदार्थ गरी सवा लाख मूल्य बरावरको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको सशस्त्र प्रहरी टोलीले भद्रपुर, ज्यामिरगढी ,पाठामारी र केचनामा उक्त मूल्य बरावरको सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरीले कचनकवल गाउँपालिकास्थित पाठामारी नाकाबाट आइतबार १ सय लिटर डिजेल, ६० लिटर पेट्रोल भारततर्फ लैजादै गरेको अवस्थामा बरामद गरेको जनाइएको छ । त्यस्तै मेचीनगर नगरपालिकास्थित ज्यामिरगढी नाकाबाट भारतबाट नेपालतर्फ भन्सार छलेर भित्राइएको फर्निचरमा प्रयोग हुने रंगका ड्रम बरामद गरेको छ । त्यसैगरी भद्रपुर ४ स्थित डागीबारी–आपगाछी नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको तीन बोरा सुर्ती, प्याकेजिङ्ग सुर्ती बरामद गरेको सीमा सुरक्षा कार्यालय भद्रपुरले जनाएको छ । त्यस्तै सोमबार बिहान भारत तर्फ लैजादै गरेको साढे तीनसय लिटर डिजेल कचनकवल ४ फरियागाछीवाट बरामद गरेको छ । बरामद सरसामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काकभिट्टा बुझाइसकेको प्रहरीले जनाएको छ । झापामा तस्करी बढेसँगै नेपाल प्रहरीले तथा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाले गस्तीलाइ तीब्र पारेका छन् ।