विराटनगर आउँदो वैशाख २२ गते हुने नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ को नयाँ कार्य समितिको निर्वाचनको लागि मोरङ शाखाले निर्वाचन समिति गठन गरेको छ ।

विराटनगरस्थित पत्रकार महासंघको कार्यालयमा मंगलबार बसेको जिल्ला समितिको बैठकले महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहालको नेतृत्वमा समिति गठन गरेको हो ।

समितिका अन्य सदस्यहरुमा महासंघ मोरङकी उपाध्यक्ष इन्दीरा भट्टराई र मोरङ बार एसोसिएसनका अध्यक्ष वा निजले तोकेका एक जना प्रतिनिधि रहनेछन् ।

प्रत्यक्ष निर्वाचन पद्धतीबाट हुने निर्वाचनमा मनोनयन विराटनगरमा हुनेछ भने मतदान १४ वटै जिल्लामा हुनेछ । वैशाख ७ गतेभित्र हुने मनोनयन पछि मतगणना गरेर केन्द्रमा पठाउँदासम्म निर्वाचन समितिले काम गर्नुपर्नेछ ।

यस्तै महासंघ मोरङले सदस्यता नविकरणको काम तीब्र पार्ने निर्णय गरेको छ । चैत २५ गतेसम्ममा साधरण सदस्यले नविकरण नगरे वैशाख २२ गते हुने निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने प्रदेश कार्यसमिति निर्वाचन (कार्यविधि) निर्देशिका–२०७४ मा उल्लेख छ । सोही अनुसार सदस्यहरुलाई समयमै सदस्यता नविकरण गर्न माहासंघले आग्रह गरेको छ ।

यस्तै बैठकले पत्रकारहरुको बिमा गर्नका लागि आवश्यक कागजात चैत मसान्तसम्ममा बुझाइसक्न सम्पूर्ण सदस्यहरुलाई आग्रह गर्ने पनि निर्णय गरेको छ ।