तेह्रथुम । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले चैत मसान्तभित्र प्रदेश सरकारले प्रदेश बजेट ल्याउने बताएका छन् । मुख्यमन्त्री राईले तेह्रथुमलाई पुर्ण साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै म्याङलुङ्गमा मंगलबार यस्तो बताएका हुन् । त्यसका लागि अहिले बजेट निर्माणको काम चलिरहेको उनले बताए । प्रदेशका सबै जिल्लाका निर्वाचन क्षेत्रका समस्यालाई सम्बोधन गर्ने गरी बजेट निर्माण भैरहेको मुख्य मन्त्री राईले बताए । चालु आवको ३ महिनामा खर्च गर्ने गरी प्रदेश सरकारले १ अर्ब २ करोड रुपैंयाको सीमा भित्र रहेर बजेट ल्याउने मुख्यमन्त्री राईले बताए । आवश्यकता र योजना माग धेरै भएको र बजेट सीमा थोरै भएकाले सबै योजनामा बजेट र्पुयाउन समस्या भएको उनको भनाई छ । जिल्लामा ९६ प्रतिशत जनसंख्या साक्षर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । प्रदेश सरकारले ७ सय ६२ मेघावाट क्षमताको तमोर जलाशययुक्त आयोजनालाई बहुउद्देशीय आयोजनाको रुपमा विकास गर्न प्रक्रिया अघि बढाएको बताएको बताउदै हवाई मैदान नभएका जिल्लामा सम्भाव्यता अध्ययन गर्न समेत प्रदेश सरकार लागेको उनले बताए । स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिदै राईले कर्मचारीहरुको पुरानो केन्द्रिकृत सोच र मानसिकताका कारण जनताका काम गर्न समस्या भएको बताए । संघियता कार्यान्वयनमा कर्मचारीको ठुलो हात हुने भन्दै उनले जनताका सेवामा लाग्न कर्मचारीलाई निर्देशन दिएका छन । मुख्यमन्त्री राईले संघीयता कार्यान्वयनको क्रममा पुरानो मानसिकता, आनीबानी र केन्द्रिकृत सोचका कारण अन्योल सिर्जना भएको बताएका छन् । उनले नयाँ संविधानले व्यवस्था गरेको संघीयताको नयाँ अभ्यास गर्ने क्रममा तीन वटै तहका सरकार बनिसकेपनि राज्यका विभिन्न अंङ्गहरु र कर्मचारी प्रशासनमा छाएको पुरानो मानसिकता, व्यवहार र केन्द्रिकृत सोचले समस्या सिर्जना भएको बताए । अब शान्ति, स्थिरता, विकास र समृद्धिको युग सुरु भएको भन्दै उनले जनताका भावना र चाहानाहरुसँग जोडिएर विकास र समृद्धिको गन्तव्य तय गर्ने जिम्मेवारी तीन तहकै सरकारको काँधमा आएको मुख्य मन्त्री राईको भनाई छ । तेह्रथुमका जनप्रतिनिधिहरुले प्रदेश सरकारले कानुन बनाउन ढिलो गर्दा आफुहरुलाई समस्या भएको भन्दै शिक्षा, स्वास्थ्य, जनप्रतिनिधिका सेवा सुविधा लगायत विषयमा यथासिघ्र कानुन बनाई कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् । प्रदेश सभाषद तेजमान कन्दङ्गवा, लक्ष्मण तिवारी, तेह्रथुम जिल्लाका नगर तथा गाउँपालिकाका प्रमुखहरुले आआफ्ना भनाई राखेका थिए ।