विराटनगर । १ नम्बर प्रदेश अन्तर्गत खोटाङ, उदयपुर,भोजपुर र मोरङमा बुधबार चट्याङ लागेर २ जनाको ज्यान गएको छ भने अन्य ११ जना घाइते भएका छन्।

खोटाङको रुपाकोट मझुवागडी नगरपालिका-२ बस्ने ६२ बर्षिय सम्मर बहादुर दाहालको चट्याङ लागेर मृत्यु भएको छ। अपरान्ह ३ बजेतिर आफ्नै घरमा बसीरहेको अवस्थामा चट्याङ लागेर वेहोस भएका उनलाई उपचारकोलागी जिल्ला अस्पताल खोटाङ लगिएकोमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस्तै खोटाङकै साकेला गाउँपालिका-२ बस्ने ५५ बर्षिया बाल कुमारी खत्रीको समेत चट्याङ लागेर मृत्यु भएको छ। साँझ ५ बजेतिर आफ्नै घरमा बसीरहेकी उनलाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको हो। उनका श्रीमान ६५ बर्षिय प्रेम बहादुर खत्री घाइते भएका छन्। उनको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरेहको छ।

यता उदयपुरको कटारी नगरपालिका-१३ मोहनटारमा बेलुका ७ बजेतिर परेको चट्याङ लागेर ७० बर्षिया जलसरी राई, २५ बर्षिया सीता राई, १६ बर्षिया सबिना राई, ४० बर्षिय खेत बहादुर सुनुवार, १६ बर्षिय तारा कार्की र ४६ बर्षिया हिरामाया जोगी घाइते भएका छन्। घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको छ।

यस्तै भोजपुरको पौवादुम्मा गाउँपालिका- ४ बस्ने ४० बर्षिया तारा घिमिरे चट्याङ लागेर गम्भिर घाइते भएकी छिन्। उनको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ।

यसैगरी मोरङको लेटाङ नगरपालिका-७ बस्ने ३८ बर्षिया लाल माया लिम्बु, ६५ बर्षिया दिलमाया लिम्बु र ४५ बर्षिय नर बहादुर लिम्बु चट्याङ लागेर घाइते भएका छन्। उनीहरुको स्थानिय मेडिकलमा उपचार भईरहेको छ।