धरानको फोहोर धरानमै व्यवस्थित गर्न रामधुनी नगरकाे माग
धरानको फोहोर धरानमै व्यवस्थित गर्न रामधुनी नगरकाे माग
चैत २३, २०७४
ब्लाष्ट खबर
इटहरी/ गत वर्ष एक ट्रयाक्टर फोहोर धरान उपमहानगरपालिकालाई उपहार दिएको नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाले बुधबार धरानमा फोहोरसम्बन्धि जनचेतामुलक कार्यक्रम गरेको छ ।
धरानबाट खहरे खोलाले बगाएर लगेको प्लाष्टिकजन्य फोहोरले बक्लौरी, रामधुनीका धानखेत पुरिएको विरोधमा गत वर्ष यो संस्थाले धरान उपमहानगरपालिकालाई फोहोर उपहार दिएको थियो । यो पटक भने फोहोर व्यवस्थापनसम्बन्धि कार्यक्रम गरेको हो । “स्वच्छ वन, स्वच्छ हावा,स्वच्छ पिउने पानी, प्लाष्टिक मय माटो भयो, बचाऊ सबै मिली” आवाज उठाउदै आएको मोर्चाले सोही विषयमा सचेतना फैलाउन कार्यक्रम गरेको हो ।
वर्षात्को समय आएको र धरानबाट निस्किएको फोहोर जथाभावी फाल्नाले खहरे खोलाले बगाएर किसानको खेतमा पुर्याएको भन्दै धरान आफैले आफ्नो फोहोरको व्यवस्थापन गरोस् भन्नका लागि कार्यक्रम गरिएको मोर्चाका अध्यक्ष पुष्प प्याकुरेलले बताए ।
धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा वडा अध्यक्ष, वातावरण शाखा प्रमुख र बक्लौरीका किसान लगायतको उपस्थिती थियो ।
कार्यक्रममा बोल्दै उपप्रमुख भण्डारीले धरानबाट निस्किएको फोहोरले किसानहरुलाई यस पटक बाधा नपुग्ने बताईन् । उनले धरानमा प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाउने समेत बताईन् । मोर्चाले प्लाष्टिकको कप र पेपर कप उपप्रमुख भण्डारीको हातबाट जलाएर धरानबासीलाई जनचेतना जगाएको थियो ।
प्लाष्टिक जलाएपछि निष्कने कार्बन मोनो अक्साईड ग्यासले वतावरणमा मात्र नभएर मानव स्वास्थ्यमा समेत असर पुग्ने गरेको भण्डारीले बताईन् । उनले प्लाष्टिकका झोला, ग्लासको प्रयोग नगर्न र कागजको झोला र कपको प्रयोग गर्न आग्रह गरिन् । कार्यक्रममा उपमेयर भण्डारीले प्लाष्टिक र कागजको कप जलाएर समेत देखाएकी थिइन् ।