भद्रपुर । चारआली केचना सडक खण्ड अन्र्तगत साविकको पृथ्वी नगरका ४ सय बढी घरहरुको नक्सा पास गर्न नगरपालिकाले नमानेको भन्दै स्थानीयले ज्ञापन पत्र बुझाएका छन् । २०३१ सालमा सडक विभागले तय गरेको नियम विपरित घर बनिएको आरोप लगाउँदै नगर प्रशासनले घर नक्सा पास नगर्दा स्थानीयले पीडित बन्नु परेको भन्दै भद्रपुर नगरपालिका, प्रदेश नम्बर १को मुख्यमन्त्रीको कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासनलाई समस्याहल गरिदिन माग गर्दै स्थानीयले ज्ञापन पत्र बुझाएका हुन् । वि सं २०३७ सालमा नेपाल पुनरबास कम्पनीले बस्ती बसाएको साविक पृथ्वीनगर क्षेत्र सडक विभागको २०३१ को सडक वर्गीकरण नपर्ने प्रष्ट हुँदा हुँदै पनि नगरपालिका प्रशासनले स्थानीयको घरजग्गा नक्सा पास रोकेकोले बाध्य भएर समस्या हल गर्न अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउनु परेको संघर्ष समितिका संयोजक शिवकुमार राजभण्डारीले जानकारी दिए । उनका अनुसार २०३७ सालको नक्सा अनुसार भद्रपुर दक्षिण १२ मिटरको सडक मात्र नक्साङ्कन भएको प्रमाण पेश गर्दा पनि नगर प्रशासनले नक्सा पास नगर्दा समस्या परेको हो । घर जग्गा भएर पनि सुकुमबासी बन्नु पर्ने विडम्बना ल्याउन नगर प्रशासनले घर नक्सा पास रोकेको स्थानीय पीडितको आरोप छ । सयैंको संख्यामा आएका स्थानीयले गत पुष यता पटक पटक समस्या हल गर्न माग गरेको भए पनि सुनुवाइ नभएको आरोप लगाएका छन् । संघर्ष समितिका सचिव अरुण श्रेष्ठको अनुसार २०३७ सालको सडक नक्सा अनुरुप बनिएका घर नक्सा पास नभए लाखौं राजश्व समेत नगर पालिकाले गुमाउने छ । यस्तै बैकिङ कारोवारमा रहेका घर जग्गाका रकम समेत स्थानीयले नतिर्ने हुँदा राज्यलाई नोक्सानी पुग्ने श्रेष्ठले जानकारी दिए । ज्ञापन पत्र बुझाउन संघर्ष समितिका संयोजक शिवकुमार राजभण्डारी नेतृत्वमा सहसंयोजक नारायण दाहाल, सचिव अरुण श्रेष्ठ, सल्लाहकार संयोजक गणेश पोखरेल लगायत सयौ स्थानीयको सहभागिता रहेको थियो ।