मोरङ/मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा ७ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । नगरमा नयाँ र पुराना कुष्ठरोगीको संख्या डेढ दर्जन बढी हुन पुगको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले रोग निवारण अभियान अन्तर्गत नगरका १० वटै वडामा गरेको खोजपड्तालका क्रममा हालसम्म ७ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य संयोजक मुरारी आचार्यले वताए । स्वास्थ्य शाखाले नगरका ३ वटा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई घर घरमा पठाएर कुष्ठरोगीको खोजपड्ताल गर्ने ५ दिने अभियानका क्रममा चौथो दिनसम्ममा ४ महिला र ३ पुरुष नयाँ कुष्ठरोगीका रुपमा फेला परेका हुन् ।
वडा नम्वर ७ मा २ जना तथा वडा नम्वर १, ३, ४ र १० मा एक एक जनामा कुष्ठरोग फेला परेको छ । इलामबाट वडा नम्वर ४ मा छोरीको घरमा पाहुना आएकी एक महिलाको कुष्ठरोग भनें जटिल अवस्थामा पुगेको फेला परेको छ । उनलाई शनिश्चरे स्वास्थ्य चौकीमार्फत विराटनगरहुँदै काठमाडौं शान्तिवनको कुष्ठरोग अस्पतालका लागि रेफर गरिएको स्वास्थ्यकर्मी जगत मगरले वताउनु भएको छ । १९ वर्षदेखि ७० वर्षसम्मका महिला र पुरुषमा कुष्ठरोग देखापरेको छ ।सामान्य अवस्था देखिएकाहरुलाई स्वास्थ्य चौकीबाट निगरानी गरी त्यहीँ नियमित औषधि खुवाइने छ ।
नयाँ कुष्ठरोगीको संख्या वढेको जानकारी आएपछि विहीवार नगरपालिका प्रमुख दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, स्वास्थ्यकर्मी जगत मगरको टोलीले समेत अनुगमन् गरेको छ । सरोकारवालाहरुसँग वसेर कुष्ठरोग निवारणको रणनीति तय गर्दै घरघरमा थालिएको अभियानबाट लुकेर वसेको कुष्ठरोग पत्ता लाग्दा त्यसको उपचार गर्दै कुष्ठरोग निवारणमा मद्धत पुगेको नगरपालिका प्रमुख दिलिपकुमार राईले बताए । कुष्ठरोगीका साथै उनीहरुका परिवार र वरपरका घरछिमेकी मानिसहरुलाई समेत औषधि खुवाउनु पर्ने हुन्छ । नगरमा पुराना १ दर्जन कुष्ठरोगीले औषधि खाइरहेका छन् ।