विराटनगर/ केही दिन यता लगातार परेको वर्षाको कारण कृषकहरुले लगाएको गहुँ खेती नष्ट भएको छ । मोरङको जहदा गाउँपालिकामा पाँच सय विघा क्षेत्रफलमा कृषकहरुले लगाएको गहुँखेती वर्षाको कारणले नष्ट भएको हो ।

जहदा गाउँपालिका – १ बुधनगरका विकास कुमार यादवले एक विघा क्षेत्रफलमा लगाएको गहुँ लगातार परेको वर्षाले आधा क्षत्रफलको गहुँ पुरै नष्ट भएको बताए । ‘पाकेर थन्काउन लागेको गहुँ वर्षा र हावाले गर्दा पुरै गहुँको बोट ढलेको छ,’ कृषक यादवले भने, ‘अहिले पनि गहुँ खेतभरी पानीको आहाल छ ।’ ऋण खोजेर गहुँखेती लगाएको यादवले यस वर्ष ऋणको भार पर्ने समस्याले पिरलेको बताए । ‘आफ्नो घर परिवारलाई पुग्ने गहुँ राखेर विक्री गर्ने योजना थियो,’ उनले भने, ‘केही दिनको पानीले सबै सपना चकनाचुर पारो । हजारौ रुपैयाँ ऋण खोजेर लगाएको गहुँ बाली कामै नलाग्ने भएको छ । ’

बुधनगरकै अर्का कृषक चन्द्रप्रसाद राजवंशीले ३ बिघा क्षेत्रफलमा लगाएको गहुँखेती आधा पुरै सखाप पारेको बताए । ‘पानीले खेतबारी भरी पानी जमेर तालजस्तो बनेको छ,’ कृषक राजवंशीले भने,’ ‘गहुँखेती र मकै समेते नष्ट गरेको छ ।’

लगातारको वर्षाले पानीले खेतबारीमा लगाएको बाली नष्ट गर्न थालेपछि किसान चिन्तित छन् । ‘गहुँ भित्र्याउने समयमा पानीले नष्ट गरेपछि गाउँमा खाद्यान्न समस्या चुलिने सम्भावना बढेको छ’, कृषक राजवंशीले भने ।’

बाली भित्रयाउने बेलामा पानीले हिउँदे बालीमा ठूलो नोक्सानी पु¥याएको जहदा गाउँपालिका – १ का वडा अध्यक्ष प्रदीपचन्द्र यादवले बताए । अहिले दैनिक जसो कृषकहरुले पानीले क्षति पुगेको गुनासो लिएर वडा कार्यालय आउने गरेको बताए । उनका अनुसार जहदा गाउँपालिकामा पानीले क्षति पु¥याएको विवरण संकलन गरी जिल्ला कृषि कार्यालय मोरङमा पु¥याउने तयारी सुरु गरेको जानकारी दिए ।